Hamro Patra
“मलाई ! म नै बन्नु छ”

सी.जी. “निर्मलश्री”

मलाई !
म बाहेक कोही बन्नु छैन
कसैको तुलनामा
तौलिनु छैन मलाई 
म !
म मै ठिक छु
म नै रहनेछु....
.
मलाई !
श्रीकृष्ण बन्नु छैन
मेरो प्रेम कहानीमा 
अनगिन्ती प्रेमिकाको 
लश्कर लगाउँदै 
मेरी रुक्मिणीको आँखाको तारो
बन्नु छैन मलाई ....

मलाई !
राम बन्नु छैन 
दुनियाँको कुरा सुनेर
मेरी प्रियतमाको
पवित्रताको अग्नी परीक्षा चाहिँदैन....

मलाई लक्ष्मण बन्नु छैन
उर्मिलाको अपनत्वलाई चटक्कै त्यागेर
भातृत्वप्रेमको नाममा 
प्रियतमाको कल्पना बुझन् नसक्ने 
वर्षौ आफ्नै प्रेमको संसारलाई
त्याग्न सक्ने 
भाई बन्न मञ्जूर छैन मलाई...
.
मलाई !
धृतराष्ट्र बन्नु छैन
त्यो नेत्रहीन बन्ने चाहना छैन मलाई
जो सँधै
नेत्रहीन रहन्छ
र जसले आफ्नै समर्पणमा
समर्पित भएकी
स्वप्नसुन्दरीलाई 
जन्म जन्मान्तरसम्म
गान्धारी बनाउँछ
दृष्टिविहीन बनाउँछ
हो ! म त्यो ! धृतराष्ट्र बन्न सक्दैन....

Tikapur Hospital

मलाई !
गौतम बुद्ध बन्नु छैन
प्रियतमाको 
सुमधुर साथ छोडेर
जीवनभरी सँगै 
बाँच्ने र मर्ने कसम खाएर
प्रेमको समर्पणमा
साथ दिने
मेरी कल्पनाकी संसारलाई छोडेर
बुद्धत्वप्राप्त गर्नु छैन मलाई
भगवान बन्न किमार्थ 
मञ्जूर छैन मलाई....
.
इतिहास !
धेरै परिवर्तनशील भैसकेको छ
दशौं दिशाको स्वामी 
ब्रम्हाण्ड बिजेता भैसकेर
एउटा सीताको लागि
स्वर्ण नगरी लंकामा
आगो लगाउने 
रावण बन्नु छैन मलाई....

पैतृत्वको सुखसयलको लागि
राजपाट छोडर 
आजीवन ब्रम्हचर्यमा बस्ने
भिष्म बन्नु छैन मलाई
इतिहास साक्षी छ
धर्म साक्षी छ
म उसैसँग जीउन चाहान्छु
जसलाई 
मेरो मनले रोजेको छ
जसले मलाई 
मनमा रोजेको छ
केही ज्यादती उसैमाथि गर्छु
केही ज्यादती उसैको सहन्छु
कर्तव्य
उसैमाथि बहन गरेको हुन्छु
उसैको समर्पणमा
उसैको कल्पनामा
जीवनभरि साथ दिन
उसैको नाममा बलिदान दिन
म !
म नै हुन चाहान्छु
मेरी कल्पनाकी साम्राज्ञीलाई
राधा, सीता, उर्मिला,
गान्धारी र यशोधराको 
प्रताडना दिने
महामानव हैन
तिमीलाई ज्यादती गरेपनि
तिमीमाथि नै सम्पूर्ण जीवन
समर्पण गर्न खोज्ने
म !
म नै हुन चाहान्छु .....

(चतुर्भुज गौतम
टीकापुर १, कैलाली
हालः काठमाण्डौं)

प्रकाशित मिति: शनिबार, असोज २६, २०८१  १४:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update