टीकापुर, असोज २२
टीकापुर नगरपालिकाको मुख्य बजार क्षेत्रबाट दिनदहाडै मोटरसाइकल चोरी भएको छ ।
टीकापुर नगरपालिका वडा नम्बर १ स्थित नेपाल बैंक लिमिटेडको हाताभित्रबाट टीकापुर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष दीपक चौधरीको मोटरसाइकल चोरी भएको हो ।
उनले चढ्दै आएको सरकारी नम्बर प्लेटको सुप प्र ०१–००१ ब २३०४ नम्बरको मोटरसाइकल आज दिउसो १२ः३५ बजेतिर चोरी भएको छ ।
उनले आफू काम विशेषले बैंक भित्र गएको अवस्थामा पार्किङ गरेर राखेको मोटरसाइकल चोरी भएको बताए । ‘म एकैछिनमा काम सकेर आईसकेको थिए’ उनले भने–‘पार्किङ गरेको ठाउँमा बाईक भेटिएन ।’
कालो रंगको कपडा लगाएर आएको व्यक्तिले मोटरसाइकल चोरेको सिसी क्यामेरामा देखिएको चौधरीले जानकारी दिए । ‘सुरुमा मोटरसाइकल माथि बसेको देखिन्छ । एकछिनमा शौचालय तिर गएको छ’ उनले भने–‘शौचालयबाट फर्केर मोटरसाइकल लगेको छ ।’
दिनदहाडै मुख्य बजार क्षेत्रबाटै मोटरसाइकल चोरी भएपछि प्रहरी समेत अचम्मित परेको छ । दशैं तिहार जस्ता महत्वपूर्ण चाडपर्व नजिकिएको बेला यस्ता घटनाले सुरक्षा चुनौती थपिएको छ । बजारमा किनमेल गर्न सर्वसाधारणको चाप बढेको छ । यस्तै बेला थप कुनै अप्रिय घटना हुनसक्ने जोखिम समेत बढेको छ ।
इलाका प्रहरी कार्यालय टीकापुरका इञ्चार्ज डिएसपी नविन राजा बुढाथोकीले मोटरसाइकल चोरीको घटना प्रति आफू गम्भिर भएको बताए । उनले मोटरसाइकल चोरीमा संलग्न व्यक्तिको खोजी भैरहेको जानकारी दिए । उनले प्रहरी परिचालन गरिएको बताए ।
उनले थप कुनै अप्रिय घटना हुन नदिने तर्फ प्रहरी सचेत रहेको बताए ।