Hamro Patra
हिँउदमा गर्मी हुने पूर्वानुमान 

काठमाण्डौं, असोज २२
जल तथा मौषम विज्ञान विभागले यस वर्षको हिउँद औसतभन्दा न्यानो हुने पूर्वानुमान गरेको छ । 

विभागको ऋतुगत आकलनअनुसार यस वर्षको हिउँद याम (असोज १५ देखि पुस १६गतेसम्मको अवधि) मा वर्षा पनि बढी हुने प्रक्षेपण गरेको छ ।
विभागले जनाएअनुसार कोशी, मधेस, बागमती, गण्डकी प्रदेशका दक्षिण—पूर्वी भू—भाग, लुम्बिनी प्रदेशका पूर्वी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

त्यस्तै कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू—भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भू—भागमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपित छ ।  बाँकी भू—भूभागमा सरदर वर्षा हुने सम्भावना रहेको छ ।

CMA Staff

अक्टोबरदेखि डिसेम्बरसम्म तीन महिनाको अवधिलाई पोस्ट मनसुन पनि भनिन्छ । यो अवधिमामा नेपालमा नेपालमा सरदर ७४.३ मिलिलिटर वर्षा हुने गर्छ । गत वर्ष पनि पोस्ट मनसुनमा बढी पानी परेको थियो । गत वर्ष ७५.३ मिलिमिटर पानी परेको विभागले बताएको छ ।

यस वर्ष मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ५५ प्रतिशतसम्म रहेको प्रक्षेपण गरिएको थियो ।

जसअनुसार जेठ १८देखि असोज १४ गतेसम्मको अवधिमा १७ सय मिलिमिटरभन्दा बढी वर्षा भएको थियो । यो भनेको सरदरभन्दा १६ प्रतिशतले बढी हो ।

यस वर्ष पुस १६ गतेसम्म कोशी प्रदेशको उत्तरी भू—भाग, मधेस प्रदेशको पश्चिमी पश्चिमी भू—भाग र बागमती प्रदेशको पूर्वी तथा दक्षिणी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

कोशी प्रदेशको दक्षिणी भू—भाग, मधेस प्रदेशको पश्चिमी भू—भाग, बागमती प्रदेशको उत्तर—पश्चिम भू—भाग र गण्डकी प्रदेशको दक्षिण—पूर्वी भू—भागमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

कर्णाली प्रदेशका मध्य तथा उत्तरी भू—भाग र सुदूरपश्चिम प्रदेशका उत्तरी भू—भागमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ३५ देखि ४५ र देशका बाँकी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको विभागले बताएको छ ।

यस्तै बागमती प्रदेशको मध्य तथा दक्षिणी भू—भाग, मधेस प्रदेशको पश्चिमी भू—भाग, गण्डकी प्रदेशको मध्य तथा पश्चिमी भू—भाग, लुम्बिनी प्रदेशका मध्य तथा पूर्वी भू—भाग र कर्णाली प्रदेशको पूर्वी तथा उत्तरी भू—भागमा सरदरभन्दा बढी अधिकतम तापक्रम हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ ।

कोशी प्रदेशका मध्य भू—भाग, मधेस प्रदेशका पूर्वी भू—भाग र बागमती प्रदेशका उत्तरी भू—भागमा अधिकतम तापक्रम सरदर हुने सम्भावना ३५ देखि ४५ प्रतिशत र बाँकी भू—भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना छ । विभागका अनुसार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशका पश्चिमी भू–भाग र लुम्बिनी प्रदेशका पश्चिमी भू–भागमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ५५ देखि ६५ प्रतिशत रहेको छ । त्यसैगरी कर्णाली प्रदेशका पूर्वी भू–भाग, लुम्बिनी प्रदेशका मध्य भू–भाग, गण्डकी प्रदेशका मध्य तथा उत्तरी भू–भाग, बागमती प्रदेशको अधिकांश भू–भाग, मधेश प्रदेशका पूर्वी भू–भाग र कोशी प्रदेशमा अधिकतम तापक्रम सरदर भन्दा बढी हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको छ भने बाँकी भू–भागमा सरदरभन्दा बढी हुने सम्भावना ३५ देखि ४५ प्रतिशत रहेको छ ।

विभिन्न सामुद्रिक, वायुमण्डलीय, भूमण्डली, हिममण्डलीय र जैविकीय प्रणालीका आधारमा ऋतुगत जलवायु आकलन गर्ने गरिन्छ । विभागले यस आकलन विश्व मौसम संगठनको विश्वभर तथा क्षेत्रीय स्तरको जलवायु सूचना उत्पादन गर्ने केन्द्रहरूको हावापानी प्रारूपहरूको आकलनलाई आधार मानेको बताएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २२, २०८१  १४:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update