धनगढी, असोज २२
दशैं तिहारको आगमनसँगै कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा घर फर्कनेहरुको घुँइचो लागेको छ । उनीहरु भारतको विभिन्न ठाउँबाट फर्किएका हुन ।
रोजगारीका क्रममा भारतमा रहेकाहरु घर फर्किने चाप बढेपछि गड्डाचौकी नाकामा त चेकजाँचका लागि कुकुर नै प्रयोग गरिएको छ ।
सोमबारदेखि नाकामा दुईवटा कुकुरको प्रयोग गरएिको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरीको केनाईन शाखाबाट शेरा र लैला नामका कुकुर ल्याइएको हो । दुवै कुकुरले गड्डाचौकी र कैलालीको गौरीफण्टा नाकामा आलोपालो जाँच गर्नेछन ।
उनले हिजो दिनभरी गड्डाचौकीमा कुकुरको प्रयोग गरेर जाँच गरिएको बताए । आज पनि गौरीफण्टामा जाँच गरिनेछ । भीडभाडका बेला लागुऔषध तथा अन्य अवैध मालसामान भित्रिन सक्ने भएकाले कुकुरको प्रयोग गरएिको प्रहरीले जानकारी दिएको छ ।
गड्डाचौकीमा खटाइएको कुकुरले एउटाले विस्फोटक पदार्थ र अर्कोले लागुऔषध पहिचान गर्छन । यता त्रिनगर नाकाको पाँच सय मिटर क्षेत्रमा तीन ठाउँमा सशस्त्र प्रहरी, एक ठाउँमा भन्सार कार्यालय, एक ठाउँमा नेपाल प्रहरी, एक ठाउँमा भारतीय भन्सार र एक ठाउँमा सीमा सुरक्षा बल एसएसबीले समेत चेकजाँच गर्दै आएको छ ।