Hamro Patra
नागरिक उन्मुक्ति पार्टीको गुनासो-सरकारमा कामविहीन बनाइयो

काठमाडौं, असोज २१
सत्ता साझेदार दल नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले सरकारमा भूमिका विहीन बनाइएको भन्दै असन्तुष्टि जनाएको छ । सधैं भूमिकाविहीन बनाइरहे सरकार छाड्ने चेतावनी नाउपाले दिएको छ ।

नाउपाले केन्द्र सरकारमा पर्यटन राज्यमन्त्री पाएको छ । अरुण कुमार चौधरी राज्यमन्त्रीको जिम्मेवारीमा छन् । तर कामविहीन बनाइएको गुनासो उनको छ ।

यसैगरी सुदूरपश्चिम प्रदेश सरकारमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मणकिशोर चौधरी छन् । नाउपाका नेताहरुका अनुसार सुदूरपश्चिम सरकारमा राज्यमन्त्री पनि पाउने सहमति भएको थियो । तर अहिलेसम्म नपाएको गुनासो पनि नाउपाको छ ।

CMA Staff

यसैगरी लुम्बिनी प्रदेश सरकारमा सामाजिक विकास मन्त्री दिने मौखिक समझदारी भएको थियो । तर, त्यो पनि कार्यान्वयन नभएको नाउपाको भनाइ छ ।

‘यस्तै अवस्था हो भने सरकारमा किन बसिरहने ?’ नाउपा अध्यक्ष रेशम चौधरी भन्छन्, ‘काम गर्ने वातावरण दिने र समझदारी कार्यान्वयन गर्ने हो भने ठिकै छ । नत्र भने सरकारबाट बाहिरिन्छौं ।’ सरकारबाट बाहिरिए पनि समर्थन भने कायम राख्ने उनको भनाइ छ ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न यही असोज १८ र १९ गते नाउपाको बैठक बोलाइएको थियो । तर बाढीपहिरोको विपद्का कारण बैठक स्थगित भएको छ । छिट्टै बैठक बसेर आवश्यक निणर्य लिइने चौधरीको भनाइ छ ।

नाउपाले सुदूरपश्चिममा सात, लुम्बिनीमा चार सिट र मधेशमा एक सिट छ । सुदूरपश्चिम सरकारमा नाउपा निणर्ायक छ ।

सरकारमा सहभागी हुने जनताको मतको म्यान्डेड नभए पनि जनप्रतिनिधिहरुको सरकारमा जाने व्यग्र चाहना भएकाले सरकारमा सहभागी भएको अध्यक्ष चौधरीले बताए । यद्यपि प्रदेश सरकारमा धेरै गर्न सके पनि संघको सरकारमा असफल भएको चौधरीको भनाइ छ । स्वर्गद्वारी गुठीका समस्या समाधान गर्न र मुक्त कमलरीको समस्या समाधान गर्न नसकेको उनले स्वीकार गरे ।

सरकारमा जाने कि नजाने भन्ने विषयमा पार्टीभित्र विवाद हुँदा श्रीमती रञ्जिता र आफूबीचको विवाद पनि छताछुल्ल भएको उनले बताए । विगतमा कुर्सीका निम्ति भएको हानथापलाई रोक्न नसकेको बताउँदै उनले अब भने विवाद मत्थर भएको जिकीर गरे ।

उनले भने, ‘नागरिक उन्मुक्ति पार्टी अब एकढिक्का भएर अगाडि बढ्छ । अब आफ्नो मुद्दा र कार्यदिशामा अघि बढ्छ । हामी एक-दुई जना जनप्रतिनिधि गुमाउन चाहन्छौं तर मुद्दा गुमाउन चाहन्नौं ।’
अनलाइन खबर

प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १२:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update