सी.जी. “निर्मलश्री”
चतुर्भुज गौतम
खुकुरी !
छातिमा भ्वाक्क रोपेर
सँधैं
मीठो !
सुमधुर !
कोेकिल आवाजमा
सोध्ने गर्छौ तिमी–
“सञ्चै हुनुहुन्छ ?”....
.
हातखुट्टा !
फलामे साङ्गलोभित्र कोच्दै
आँखामा
कालो पट्टी बाँधेर
चारैतिर अन्धकार बनाई
मुखमा
मोटो कपडा कोचेर
न त बोल्न सक्ने,
न त हेर्न सक्ने,
न त हातखुट्टा फट्फटाएर
तड्पिन सक्ने
अवस्थामा पुर्याएर
भन्ने गर्छौ तिमी—
“दीर्घायुको कामना छ तिमीलाई”...
.
टाउको !
नदीको मझधारमा
डुबाउँदै
नाकमुख बन्द गराएर
श्वास नै फेर्न नदिई
मृत माछा बगरमा
छट्पटाएजस्तै
छटपटाहटमा पारेर
भन्ने गर्छौ तिमी–
“आऊ ! नदीपारी सहजै पुर्याईदिन्छु”...
.
बाटोभरी !
एम्बुस र माइन बिछ्याएर
बन्दूक र राइफल तेस्र्याई
संगीनले घोचीघोची
हिँड्न लगाएर भनिदिन्छौ तिमी–
“तिमीलाई !
शुभयात्राको असीम शुभकामना छ...”
.
हरेक !
पलपल र क्षणक्षणमा
बाँच्न चाहने
मेरा जिजिविषाहरु र
हरेक !
निमेश निमेशमा
खुकुरीको धारमा हिँड्न लगाउने
तिम्रो सत्कर्महरुको
संयोजन र फ्यूजनको संगम
बनेको छ जिन्दगी अचेल !
न प्रेममा
समर्पण पाउन सकिन्छ
न जीवनमा सरल र सहज
प्रकृयामा बाँच्न पाउने
कल्पनामा नै रमाउन सकिन्छ
खुकुरीको धार !
फलामे साङ्गलो !
बम बारुद माइनका एम्बुसहरु !
बन्दूक र राइफलका कुन्दाहरु !
संगीन धारमा बगिरहेछ जीवन
लाग्छ !
जीवनको फ्यूजन नै
तिम्रो सत्कर्महरुको
संयोजन हो
नियमित प्रक्रियामा बाँच्न नसकिने
आकस्मिकताहरुको पर्खाई हो ...
टीकापुर १, कैलाली
हाल: काठमाण्डौं