Hamro Patra
बाहुनगाउँमा महायज्ञ हुने

टीकापुर, असोज १९
अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ५ बाहुनगाउँमा श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ २०८१ आयोजना हुने भएको छ । बाहुनगाउँ निवासी ढुंगाना परिवारले यही कात्तिक २ देखी ९ गतेसम्म महायज्ञ आयोजना गर्ने भएका छन । 

ढुँगाना परिवारहरुले पितृउद्धारका लागि भागवत महायज्ञ गर्ने भएका छन् । अछाम बाहुनगाउँ पुख्र्यौली थलो भई हाल कैलाली, कन्चनपुर लगायत देश तथा विदेशमा रहनु भएका ढुँगाना परिवारले यो महायज्ञ गर्न लागेका हुन ।

CMA Staff

डा. देवेन्द्र राज भट्ट मुलवाचक रहने महायज्ञ कार्तिक २ गते कलशयात्रा सहित शुरु भई कार्तिक ९ गते पितृउद्धार सहित समापन हुने कार्यक्रम रहेको कार्य व्यवस्था समितिका सचिव दीपकराज ढुँगानाले जानकारी दिएका छन ।
पितृउद्धारका लागि गरिने उक्त महायज्ञमा ढुँगाना परिवारका पुर्वज जयराज ढुँगानाले तत्कालिन राजाबाट पाएको ताम्रपत्रको सिला बनाई राख्ने योजना समेत रहेको छ ।

शाके संवत १३५२ मा तत्कालिन राजा उदय ब्रम्हले मंगलसेनबाट बसाई सरि आएका ढुँगानाहरुका पुर्वज जयराज जोइशी (ढुँगाना) लाई हालको बाहुनगाउँमा बसोबास र हकभोग गर्ने अधिकार स्वरुप ताम्रपत्र दिएको बताईन्छ ।
पाली लिपीमा लेखिएको उक्त ताम्रपत्रलाई देवनागरी लिपीमा अनुवाद गरि सिलामा लेखेर महायज्ञस्थलमा राखिने छ ।

भागवतको प्रचलन
भगवान श्रीकृष्णको स्वधाम गमन पछि कलियुगको आगमन भयो । पाण्डवहरुले आफ्ना नाती परिक्षितलाई राजा बनाएर स्वर्ग प्रस्थान गरे । पृथ्वीको दिग्विजय गरी चक्रवर्ती सम्राट बनेका परिक्षितमा आफैले आश्रय दिएका कलिको प्रभाव पर्यो । सिकार खेल्न जङ्गल पसेका उनले तपस्यारत शमिक मुनिका गलामा मरेको सर्प पहिराइदिए । शमिक मुनिका पुत्र शृङ्गी ऋषिलाई आफ्ना पिताको अपमान सह्य भएन । उनले राजा परीक्षितलाई सात दिनका दिन सर्पले डसेर मृत्यु हुने श्राप दिए । 

श्राप पाएको सातौ दिनमा आफ्नो मृत्यु हुने बुझेपछि छोरा जन्मेजयलाई राजपाट सुम्पेर गङ्गा किनारमा पुगेका परीक्षितलाई व्यासपुत्र शुकदेवले जन्ममृत्युको चक्करबाट मुक्त हुने ज्ञान दिए । 

शुकदेवले राजा परीक्षितलाई दिएको त्यही ज्ञान नै श्रीमद्भागवतका रूपमा आज प्रसिद्ध बनेको छ । यसमा भक्ति, ज्ञान र कर्मको उपदेश गरिएको छ । मृत्युको सम्मुख पुगिसकेका मनुष्यले कसरी मोक्ष पाउने भन्ने प्रश्नको उत्तरमा श्रीमद्भागवतको सिङ्गो कथा घुमेको देखिन्छ । 
 

प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १४:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update