Hamro Patra
मुलभन्सारमै छैन क्वारेन्टाइन

परमानन्द पाण्डे
टीकापुर, फागुन ४
कैलालीको दक्षिणी सीमावर्ती खक्रौलामा रहेको सत्ती छोटी भन्सार कार्यालय मुलभन्सार बनेको डेढ वर्ष बित्नै लाग्दा समेत वनस्तपति, पशु क्यारेन्टाइन तथा खाद्य प्रयोगशाला नहुँदा ब्यावसायी मर्कामा परेका छन् ।

सत्ती भन्सारमा वनस्पति, पशु क्यारेन्टाइन र खाद्य प्रयोगशाला नहुँदा व्यवसायीहरुलाई धनगढीको त्रिनगर भन्सारबाट क्यारेन्टाइन जाँच गर्नुपर्ने बाध्यता छ ।

भन्सारबाट आयात निर्यात हुने फलफुल, तरकारीका लागि वनस्पति, पशुपंक्षीका लागि पशु क्वारेन्टाइन र खाद्य सामग्री चेकजाँचका लागि खाद्य प्रयोगशाला स्थापनाको पहल भइरहेको भएपनि सुनुवाई नभएको सत्ती भन्सार कार्यालयका प्रमुख रामचन्द्र शर्मा ढकालले बताए ।

Khadga Memorial And Janajagriti

‘सत्ती भन्सारबाट सामान ल्याउन व्यवसायीहरु तयार भएपनि प्रयोगशाला नहुँदा व्यवसायीले क्वारेन्टाइन जाँचको कागज बनाउन धनगढी जानुपर्ने बाध्यता छ’ उनले भने ‘भन्सार स्तरोन्नति भएपनि पूर्ण रुपमा सञ्चालनमा आउन समेत प्रयोगशाला चाहिन्छ ।’

सत्ती भन्सार कार्यालयले यस आर्थिक वर्षको साउन यता ३ करोड ४३ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । क्वारेन्टाइन नहुँदा व्यावसायीहरुले अन्यत्र जानुपर्ने बाध्यताले समेत लक्ष्यमा असर गरेको ढकालले बताए ।
भन्सारमा भारतबाट लत्ता कपडा, हार्डवेयर र मेसिनरी सामानका पार्टस लगायत आयात हुने गरेका छन् ।

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले आफूहरूले सोचे जस्तो ठूला सामान ल्याउन सकिने अवस्था नरहेको बताए ।

‘भारतमा नेपालको भन्सारसम्म आउने सडक त्यत्ति राम्रो छैन । ठूला कन्टेनर आउन सक्दैनन्’ अध्यक्ष भण्डारीले भने ‘भन्सारमा क्वारेन्टाइन स्थापनाका लागि मन्त्रालयमा पहल भइरहेको छ भने भारततर्फ बाटो बनाउने कुरामा भारतीय पक्षसित छलफल चलिरहेको छ ।’

टीकापुर बजारका व्यापारी प्रकाश तिमिल्सिनाले मूलभन्सार बने पनि क्वारेन्टाइन नहुँदा तरकारी र फलफूलजन्य सामान ल्याउन धनगढी नै जानुपर्ने बाध्यता रहेको बताए ।

‘तरकारी र फलफूल त ल्याउन सकिन्थ्यो’ उनले भने, ‘भन्सारमा क्वारेन्टाइन छैन, हामी धनगढीको त्रिनगर भन्सारमै जानुपर्छ ।’

भारतका मुख्य ब्यापारिक केन्द्र दिल्ली, लखनऊ, कानपुरबाट निकै नजिकको दुरीमा रहेको सत्ती भन्सार कार्यालयबाट सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नं. ५ का विभिन्न जिल्लामा सामान आयात हुने गरेको छ ।
सत्ती भन्सार कार्यालयको स्तरोन्नति भएपनि आवश्यक पूर्वाधार नहुँदा सञ्चालनमा समस्या भइरहेको छ ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update