टीकापुर, असोज १७
इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी नवीन राजा बुढाथोकीले शुन्य सहनशीलता अपनाउँदै गुण्डागर्दी रोक्न आफू खरो उत्रिने बताएका छन् ।
टीकापुरका पत्रकारहरुसँगको आज भएको परिचयात्मक कार्यक्रममा बोल्दै डिएसपी बुढाथोकीले यस क्षेत्रको शान्ति सुरक्षा कायम राख्न गुण्डागर्दी, अपराध नियन्त्रणमा खरो उत्रिने बताएका हुन् ।
‘मलाई कुनै किसिमका लोभलालच छैन, जति दिन यहाँ बस्छु, शुन्य सहनशीलता अपनाउँदै शान्ति सुरक्षा कायम गर्न गुण्डागर्दी प्रति खरो उत्रिने छु’ डिएसपी बुढाथोकीले भने ‘लागु औषध नियन्त्रण, चोरी निकासी नियन्त्रण गरेर शान्ति सुरक्षा कायम राख्न प्रतिबद्ध छु ।’
गत साता मात्रै इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुखमा नेपाल प्रहरीको प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत डिएसपी बुढाथोकी सरुवा भएर आएका हुन् ।
‘यहाँ आएकै दिनदेखि मैले विभिन्न संघ, संस्थाहरुसँग अन्तरक्रिया र छलफल गरिरहेको छु’ डिएसपी बुढाथोकीले भने ‘केन्द्रिय कार्यालयमा योजना निर्माणमै बसेर काम गरेको हुनाले पनि मैले योजना बनाएर काम गर्नेछु, यसमा यहाँहरु सबैको सहयोगको अपेक्षा गरेको छु ।’
कार्यक्रममा सहभागी पत्रकारहरुले प्रहरीले लागुऔषध, चोरी निकासी नियन्त्रण, ढुंगा गिट्टीको अवैध उत्खनन, गुण्डागर्दी जस्ता समस्याप्रति सचेत रहेर कार्य गर्न आग्रह गरेका थिए ।