धनगढी, असोज १४
धनगढी उपमहानगरपालिकाले वडा नम्बर १४ को फूलबारीबाट धनगढी चौराह हुँदै गोदावरी नगरपालिकाको अत्तरियासम्म नगर बस सेवा सञ्चालन गरेको छ ।
उपमहानगरपालिकाले सञ्चालन गरेको नगर बस सेवाबाट ग्रामिण क्षेत्रका सेवाग्राहीहरुलाई निकै सहज भएको छ । नगर बस सेवाका कारण गन्तव्यमा पुग्न ठाउँ ठाउँमा सवारी साधन फेर्नुपर्ने बाध्यता हटेको सेवाग्राहीहरुको भनाई रहेको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १४ फूलबारीका स्थानीय माता सुनारका अनुसार नगरबस सञ्चालन भएपछि भाडा पनि सस्तो भएकोे बताए । उनले अटो रिक्साले फूलवारीदेखि क्याम्पसरोडसम्म एक सय रुपैंया भाडा लिने गरेकोमा नगरबसले फूलबारीदेखि धनगढी चौराहसम्म ५० रुपैंया मात्रै भाडा लिने गरेको बताए ।
फूलबारी कै स्थानीय धर्मराज पडालले पनि नगर बस सञ्चालन भएपछि ग्रामिण क्षेत्रका नागरिकलाई धेरै सहज भएको बताए । धनगढी बजार गएर फूलबारी फर्कदासम्म ५ सय रुपैंया भाडा तिर्नुपर्ने बाध्यता हटेको उनको भनाई रहेको छ । पडालका अनुसार नगरबस सञ्चालन भएपछि फूलबारी धनगढी र फूलबारी आउँदा जाँदा एक सय रुपैंया मात्र भाडा तिर्नु परेको बताए ।
धर्मराजले बस बिसौनीका लागि निश्चित क्षेत्र तोक्न सके यात्रु र सवारी चालकलाई थप सहज हुने बताए । त्यसैगरी बस छुट्ने समय पनि घटाइनु पर्ने उनको सुझाव रहेको छ ।
धनगढी उप महानगरपालिका वडा नम्बर १९ की स्थानीय गीता भट्टराईले नगरबस सञ्चालन भएपछि स्थानीयलाई सहज भएको बताएकी छिन । अटो रिक्साले नजिकको यात्रीलाई बोक्न नमान्ने गरेकोमा नगरबस सञ्चाल भएपछि छोटो दुरीका यात्रुलाई पनि सहज भएको भट्टराईले बताएकी छिन ।