टीकापुर, असोज १३
टीकापुरमा आजदेखी सुरु भएको राष्ट्रिय युवा संघ नेपाल कैलालीको दशौं अधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ । उद्घाटन समारोहलाई पार्टीका नेताहरुले सम्बोधन गरेका छन ।
उद्घाटन समारोहमा प्रमुख अतिथि रहेका नेकपा एमालेका पोलिटब्यूरो सदस्य महेश बस्नेत रहेका थिए । राष्ट्रिय युवा संघको पूर्वअध्यक्ष र इञ्चार्ज समेत रहिसकेका बस्नेतले युवा संघ रहर लाग्दो र डर लाग्दो हुनुपर्ने बताए ।
उनले युवा संघ रहर लाग्दो भए मात्रै युवाहरुको आकर्षण बढ्ने भएकाले रहर लाग्दो हुन जरुरी रहेको बताए । ‘रुप रंगले रहर लाग्दो भनेको हैन’ उनले भने–‘जनताको मन जित्ने काम गरेर रहर लाग्दो बन्नुस् भनेको हो ।’
उनले युवा संघ जहिले पनि अन्याय अत्याचारका विरुद्ध र जनतालाई अफ्ठ्यारो पर्दा साथमा उभिनुपर्ने बताए । उनले देशले विपत्ति भोगेको प्रति दुःख लागेको बताउँदै सहयोगका लागि युवा संघ परिचालन भैसकेको बताए ।
‘हामी हरेक विपत्तिमा जनताको साथमा छौं’ उनले भने–‘हाम्रा साथीहरु सहयोगका लागि खटिनुभएको छ ।’ उनले भ्रष्टाचारी र विदेशी शक्तिका विरुद्ध भने युवा संघ डर लाग्दो हुनुपर्ने बताए ।
उनले असमझदारी, असन्तुष्ठी र अन्तरघातले निर्वाचनमा पराजित हुनुपरेको बताउँदै आगामी दिनमा यस्ता कुरा हुन नदिन युवाहरुले खबरदारी गर्नुपर्ने बताए । ‘चुनाव जित्ने प्लान छैन’ उनले भने–‘एकले अर्कोलाई सक्ने प्लान मात्रै छ ।’ उनले यस्तो प्रवृत्तिका विरुद्ध युवाहरुले एक्सन लिनुपर्ने बताए ।
उनले पार्टी भित्र एक नेताले अर्को नेताको खुट्टा तान्ने प्रवृत्ति बढेको बताए । उनले अब खुट्टा तान्ने हैन हात तान्ने परिपाटीको विकास हुनुपर्नेमा जोड दिए ।
उनले पार्टीले सबै कमि कमजोरीको समिक्षा गरेर मिसन ८४ अघि सारेको बताए । उनले मिसन ८४ मा कैलालीका पाँचवटै निर्वाचन क्षेत्र जित्ने गरेर नेता कार्यकर्ताहरु सकृय हुनुपर्ने बताए ।
‘मिसन ८४ कैलालीका पाँचवटै निर्वाचन क्षेत्र जित्ने हो’ उनले भने–‘यसमा युवा संघका साथीहरुको भूमिका अझ बढी रहने नै छ ।’
उद्घाटन समारोहमा अर्का पोलिटब्यूरो सदस्य तथा कैलाली इञ्चार्ज नारदमूनी राना, पोलिटब्यूरो सदस्य निरुदेवी पाल, राष्ट्रिय युवा संघ नेपालका इञ्चार्ज राजिप पहारी, एमाले केन्द्रिय सदस्य झपट रावल, राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष रमेश तिवारी, एमाले सुदूरपश्चिम सचिव रणबहादुर चन्द लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
त्यस्तै राष्ट्रिय युवा संघका केन्द्रिय सचिव विनय शाह, एमाले कैलाली अध्यक्ष यज्ञराज ढुंगाना, राष्ट्रिय युवा संघ नेपालका सुदूरपश्चिम इञ्चार्ज भरत मल्ल लगायतले समेत शुभकामना मन्तव्य राखेका थिए ।
राष्ट्रिय युवा संघ नेपाल कैलालीका अध्यक्ष लक्ष्मण थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।
अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । नेतृत्वका लागि पाँच जनाले दावी गरेको बताईएको छ । नेताहरु भने सर्वसम्मत नेतृत्व चयनका पक्षमा देखिएका छन । उनीहरुले सहमतिको प्रयास गरिरहेका छन ।