Hamro Patra
सिटिईभिटीको टिभेट जनचेतना अभियान सुरु

योगेश रावल
टीकापुर, फागुन ४
टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूटले ‘सीप हुन्छ हातमा, रोजगारी साथमा’ भन्ने नाराका साथ प्राविधिक तथा व्यवशायिक शिक्षा एवं तालिम (टिभेट) सम्बन्धी जनचेतना अभियान आजदेखी सुरु गरेको छ ।
अभियानको एक समारोहकाबीच टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले उद्घाटन गरेका छन । अभियानको उद्घाटन गर्दै मेयर रावलले प्रविधि र सीपलाई उत्पादनसँग जोड्नु नै यतिबेला राष्ट्रको प्रमुख एजेण्डा भएको बताए ।

उनले हाम्रा गतिविधि राष्ट्रको प्रमुख एजेण्डा अनुरुप अघि बढ्नुपर्ने सुझाव दिए । उनले अभिभावकले आफ्ना सन्तानलाई प्रविधि र सीपको संस्कार दिनुपर्ने बताए ।
उनले नगरपालिकाले यसैवर्षदेखी मेयर प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम लागु गरेको जानकारी दिए । ‘यसैवर्षदेखी प्राविधिक तथा व्यवशायिक शिक्षालाई प्रोत्साहन गर्ने उद्देश्यले मेयर छात्रवृत्ति कार्यक्रम लागु गरिएको छ’ उनले भने–‘यसले प्राविधिक तथा व्यवशायिक शिक्षामा विद्यार्थीको आकर्षण बढ्ने विश्वास गरेको छुँ ।’

सो अवसरमा कृषि पर्यटन अभियन्ता कालु हमालले जागिरे मानसिकता त्यागेर कृषि कर्मतर्फ अग्रसर हुन युवाहरुलाई आग्रह गरे । उनले युवाहरुले उत्पादन गरेको सामाग्रीको प्रयाप्त बजार रहेकाले यसतर्फ अग्रसर हुन युवाहरुलाई सुझाव दिए ।

Khadga Memorial And Janajagriti

टीकापुरमा पुष्प व्यवशायमा संलग्न सीताराम चौधरीले कुनैपनि सीप सिके बेरोजगार भएर बस्नु नपर्ने बताए । उनले आफूले नौ जनालाई रोजगारी दिनुका साथै पुष्प व्यवशायबाट प्रयाप्त आम्दानी गरिरहेको बताए ।
इन्ष्टिच्यूटका प्राचार्य टेकेन्द्रबहादुर थापाको अध्यक्षतामा भएको शुभारम्भ कार्यक्रममा शिक्षा संकाय संयोजक हेमन्त न्यौपानेले स्वागत गरेका थिए । उद्घाटन समारोहमा टीकापुर नगरपालिका वडा नं. ५ का वडाध्यक्ष रामशंकर थारु र टीकापुर उद्योग वाणिज्य संघका उपाध्यक्ष चक्रपाणी सापकोटा विशिष्ट अतिथि रहेको थिए ।

अभियान सुभारम्भ कार्यक्रमका अवसरमा इन्ष्टिच्यूट हाता भित्र प्राविधिक तथा व्यवशायिक शिक्षाका बारेमा जानकारी दिने उद्देश्यले मेलाको आयोजना गरिएको छ । मेलामा विभिन्न विद्यालयका विद्यार्थीहरुले अवलोकन गरेका छन । सोही मेलामा विभिन्न रोजगार प्रदायक संस्थाहरुले आफ्ना उत्पादनका बारेमा जानकारी समेत दिएका छन ।

आगामी दिनमा यस अभियानले विभिन्न गतिविधिका माध्यमबाट इन्ष्टिच्यूट वरपरका क्षेत्रमा रहेका सामुदायिक विद्यालय, रोजगारदाता र स्थानीय समुदायमा प्राविधिक तथा व्यवशायिक शिक्षाका बारेमा जानकारी दिने बताईएको छ ।

करिव चार महिनासम्म सञ्चालन हुने अभियानका क्रममा विद्यार्थीहरुसँग अन्तरक्रिया, विभिन्न उद्योगहरुमा अध्ययन भ्रमण, नीजि क्षेत्रसँगको सहकार्यमा रोजगार मेला, सामुदायिक क्रियाकलाप र सूचना प्रवाह सम्बन्धी कार्यक्रम सञ्चालन हुने प्राविधिक शिक्षा तथा व्यवशायिक तालिम परिषदका सूचना अधिकारी अनिल बज्राचार्यले जानकारी दिए ।

परिषदले यो अभियान तीन मुख्य रोजगार प्रदायक क्षेत्र समेटेर तीन प्राविधिक शिक्षालय मार्फत परिक्षण कार्यक्रमका रुपमा लागु गरेको छ । अभियान बिपी मेमोरियल पोलिटेक्निकल इन्स्टिच्युट सपहीमा निर्माण व्यवशाय र पोखरा टेक्निकल स्कुल कास्कीमा पर्यटन सम्बन्धी अभियान सञ्चालन हुनेछ । टीकापुरमा भने अभियानले कृषि सम्बन्धी क्रियाकलाप सञ्चालन गर्नेछ ।

यस्तै अभियानले टिभेट पत्रकारिता पुरस्कार घोषणा गरेको छ । यो अभियान अन्तरगत नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको प्रवद्र्धनमा सञ्चारकर्मीको योगदानलाई प्रोत्साहित गर्न टिभेट पत्रकारिता पुरस्कारको स्थापना गरिएको छ ।

प्राविधिक तथा व्यवशायिक शिक्षा एवम् तालिमका सम्बन्धमा मुलुकभरी प्रभाव पार्न सक्ने समाचार प्रकाशन गर्ने एकजनालाई ५० हजार राशीको टिभेट राष्ट्रिय सर्वोत्तम पुरस्कार प्रदान गरिने छ । यसैगरी जनकपुर, पोखरा र टीकापुरका एक÷एक जना पत्रकारलाई जनही १५ हजार रुपैयाँ राशीको पुरस्कार दिइने घोषणा गरिएको छ । 

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सूचना तथा अनुसन्धान महाशाखाको नेतृत्वमा सञ्चालित यो जनचेतना अभियानको प्राविधिक सहयोग युरोपियन युनियनको आर्थिक सहयोगमा दक्षता परियोजनाले तथा कार्यान्वयन युरोपियन युनियनको आर्थिक सहयोगमै सञ्चालित सक्षमता परियोजनाको सहकार्यमा व्रिटिश काउन्सिलले गर्दैछ । यी दुवै परियोजनाको ध्येय नेपालमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको प्रवद्र्धन गर्ने हो ।

प्रकाशित मिति: आइतबार, फागुन ४, २०७६  १८:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update