चतुर्भुज गौतम सी.जी. “निर्मलश्री”
वास्तवमा !
म नहराएको
दिन नै हुँदैन
यथार्थमा म
हरेक दिन हराएको छु
कहिले उसको नजरबाट
कहिले
उनको जिद्दी र घमण्डबाट
कहिले कसैको अटेरीपनबाट
हरेक दिन आत्मबल कमजोर हुँदै
हरेक पल आत्मीयता
क्षीण एवम् क्षणभङ्गुर हुँदै
बाँच्नुपर्ने अभिलाषा र
जिजिविषालाई
अपमानको घुँट पिउन दिएर
म हरेक वर्ष हराएको छु .....
.
प्रेम !
केवल भैदियो मात्र
सपना !
केवल देखियो मात्र
जिन्दगी !
बेहाल थियो
अझै बेहाल हुँदै गयो
केवल समय !
साक्षी थियो
जुन पल पल घड्किँदै गयो
त्यसैले त
देखिएका सपना सबै
मर्दै गए
मनमा डोबिएका घाऊहरुमा
अझै नूनचुक थपिदै गए
केवल प्रेमको चाहना न थियो
संसार जित्छु भन्ने
मान्छेको परिवर्तनसँगै
प्रेममा पनि त परिवर्तन हुँदै गयो
पैतृत्वको प्रेम खोज्दा खोज्दै
सन्तान सुखको प्रेम
रोज्दा रोज्दै
आत्मीयसँगको जीवन
सोच्दा सोच्दै
जिन्दगीका हरेक समय
खोज्न मै त बित्दो रहेछ
न त जीवनले समर्पण पाउने
न त समयले पूर्णता पाउने
यथार्थमा मैले
मेरा जीवनका हरेक पलहरु
गुमाएको रहेछु !
हराएका वर्षहरु खोज्दाखोज्दै
म आफैं आफैंभित्र हराएको रहेछु ......
.
रणसंग्राम !
मैले
संघर्षको मैदानमा
गरिरहँदा
मलाई विजयपथ
नपाऊँदासम्म साथ दिने
तिम्रो त्यो प्रतिवद्धता
म हजारौं माइल टाढा
भएपनि
तिम्रै हुँ
तिम्रै बाटो
हेरिरहने छु भन्ने
तिम्रो त्यो समर्पण
सोच्दैछु अहिले
गलत सम्झेको रहेछु मैले
टाढा हुँदैछौ तिमी
कुनै गुनासो छैन मलाई
मपनि सत्य साबित गर्दागर्दै
थाकिसकेको छु
आजित भैसकेको छु
यथार्थमा
तिमी, म र हाम्रो
नविन युगको परिभाषा
खोज्न हिँडेको म
थुप्रै वर्षदेखि
आफैंमा हराएको रहेछु
मेरो आत्मचिन्तन
मेरो कल्पनाका हरेक मार्गचित्रहरु
हराएका रहेछन्
तिनै कल्पनाशील आत्मीयता,
ममत्व र प्रेमिल आश्वासन
खोज्न निस्केको म
कुनै कुरा प्राप्त गर्न नसकी
हराएको रहेछु
मेरा हरेक क्षणहरु
पलपल, निमेष र वर्षहरु
म आफैंबाट हराएका रहेछन् .....
टीकापुर १, कैलाली
हालः काठमाण्डौं