टीकापुर, असोज १२
टीकापुर बचत तथा ऋण सहकारी संस्थाको १६औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले संस्थाका अध्यक्ष भरतबहादुर रावलले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन, लेखापरीक्षण प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन, तथा प्रबन्धकको प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।
यसअघि भएको उद्घाटन समारोहलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढवीन्द्र रावलले सहकारीले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुपर्नेमा जोड दिए ।
‘संस्थाले नियमित साधारण सभा गरेको छ, यो पनि सहकारी नियमनको एक आधार हो’ क्याम्पस प्रमुख रावलले भने ‘आगामी दिनमा सहकारीले रोजगारी सिर्जना हुन सक्ने उत्पादनमूलक क्षेत्रमा लगानी बढाउँदै लैजानुपर्छ ।’ अपचलन गर्ने नियतका साथ खोलिएका सहकारी सञ्चालनमा समस्या रहे पनि नियमित साधारण सभा गर्ने, नियमक निकायका नियमहरु पालना गर्ने सहकारीमा समस्या नरहेको उनले बताए ।
कार्यक्रममा बोल्दै विशिष्ट अतिथि एवं टीकापुर नगरपालिका वडा नं. १ का अध्यक्ष मोहन सिंह लुहार बि.क.ले नगरपालिकाले सञ्चालन गर्ने व्यावसायिक तालिम प्राप्त गरेका व्यवसायीलाई सहकारीले लगानीको वातावरण बनाउनु पर्ने बताए ।
‘पालिकाले हरेक वर्ष सीपमूलक तालिमहरु सञ्चालन गर्दै आइरहेको छ, त्यसमा सहभागीहरुले सीप सिकेका छन् तर लगानीको अभावमा व्यवसाय गर्न सकेका छैनन्’ अध्यक्ष वि.क.ले भने ‘आगामी दिनमा सहकारी र स्थानीय सरकारबीच समन्वय गरेर लगानीको वातावरण बनाउन आवश्यक छ ।’ उनले टीकापुर बचत सहकारीले यस क्षेत्रको आर्थिक विकासमा मद्दत पुर्याई रहेकोमा जोड दिए ।
यस्तै टीकापुर नगरपालिका आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्यले टीकापुर बचत तथा ऋण सहकारी कोपोमिसमा नियमित विवरणहरु इन्ट्री गर्ने सहकारी रहेको बताइन् । ‘नगरपालिका नियामक निकाय हो, हामीले कोपिमसमा नियमित विवरणहरु हेरिरहेका हुन्छौं, यसले पनि सहकारीको अवस्थाबारे थाहा पाउन सकिन्छ’ सहकारी नियामक शाखा प्रमुख समेत रहेकी आचार्यले भनिन् ‘टीकापुर बचत सहकारी नियमित कोपोमिसमा विवरण राख्ने सहकारी हो ।’
सहकारीले खराब ऋणका बारेमा सचेत रहँदै असुलीको रणनीति लिएर योजना ल्याउन समेत सुझाव दिइन् । ‘सहकारीको सिद्धान्तमा चलेका संस्थामा समस्या छैन’ शाखा प्रमुख आचार्यले भनिन् ‘सहकारीलाई बैंक हो भन्ने सोचेर लगानी गर्दा सहकारीहरु समस्या परेका छन्, यसतर्फ टीकापुर नगरपालिका सचेत छ ।’
सहकारीमा ५ शय ९२ जना सदस्य रहेका छन् । आर्थिक वर्ष २०८०÷०८१ मा संस्थाको शेयर पुँजी ८५ लाख ५ शय रुपैयाँ पुगेको छ भने १ करोड ८१ लाख ७६ हजार ७ शय ५६ रुपैयाँ निक्षेप संकलन गरेको छ । शेयर सदस्यहरुलाई ३ करोड ४१ लाख ९५ हजार ५ शय ७८ रुपैयाँ लगानी गरेको संस्थाले ५० लाख ९९ हजार ६ शय ५५ रुपैयाँ आम्दानी गरेको छ ।
जम्मा खर्च ४३ लाख ३९ हजार ५ शय १८ रुपैयाँ खर्च गरी ७ लाख ६० हजार १ शय ३६ रुपैयाँ खुद नाफा आर्जन गरेको आर्थिक प्रतिबेदन बन्द सत्रले पारित गरेको संस्थाका प्रबन्धक दीपकबहादुर थापाले जानकारी दिएका छन् ।
संस्थाले यस वर्ष उत्कृष्ठ बचतकर्ताका रुपमा बचतकर्ता मिनबहादुर विष्ट र उत्कृष्ठ ऋणका रुपमा कोकिला रावललाई सम्मान गरेको छ । उद्घाटन सत्रमा संस्थाका पूर्व अध्यक्ष भीमबहादुर शाह, सल्लाहकार चेतमान खत्री, वडा नं. १ का पूर्वअध्यक्ष गंगाराम आचार्य, सदस्य हृदयराज रेग्मी लगायतले बोलेका थिए ।
संस्थाका अध्यक्ष भरतबहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धु्रवबहादुर रावलले स्वागत गरेका थिए भने सञ्चालन कार्यसमिति सदस्य प्रकाश शाहले गरेका थिए ।