टीकापुर, असोज १२
दुई दिनदेखिको अविरल वर्षातले देशभरको जनजीवन प्रभावित बनेको छ । १७ वटाभन्दा बढी नदीले खतराको तह पार गरेर डुबान निम्त्याउन थालेका छन् ।
काठमाडौं उपत्यकाका नदी करिडोर जलाम्य बनेका छन् । भारी वर्षाका कारण मकवानपुरस्थित इन्द्रसरोवर जलाशय भरिएपछि एउटा ढोका खोलेर पानीको निकास पठाउन थालिएको छ ।
अहिले पनि निरन्तर वर्षा भइरहेको छ । विशेषतः कोशीदेखि लुम्बनीसम्म अति भारी वर्षा भएको छ । सुदूपश्चिम र कर्णाली प्रदेशको पूर्वी भेगमा मध्यमदेखि भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ ।
मकवानपुरको दामनमा अति भारी वर्षा भएको छ । त्यहाँ पछिल्लो २४ घन्टामा ३३९.८ मिलिमिटर वर्षा भएको छ ।
काभ्रेको खोपासीमा ३१६.६ मिलिमिटर वर्षा भएको छ । ललितपुरको गोदावरीमा २८८.२, लेलेमा २८७.४, हटौंडामा २५६, मनवानपुरको रजैयामा २४९, चिसापानीगढीमा २४६.६ मिलिमिटर पानी परेको छ । काठमाडौंको बबरमहलमा २२८.२, त्रिभुवन विमानस्थलमा २०८, कीर्तिपुरमा २२७.८, पानीपोखरीमा १९५.२ मिलिमिटर पानी परेको छ । झापाको चन्द्रगढीमा २९४.८, अनारमनीमा २३५, बाहुनडाँगीमा २१२.४ मिलिमिटर वर्षा भएको छ । इलामको कन्काइमा २५४.२ मिलिमिटर पानी परेको छ ।
देशभरका सयभन्दा बढी केन्द्रमा अति भारी वर्षा मान भइरहँदा यो क्रम दुईदेखि तीन घन्टापछि मत्थर हुँदै जाने त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका सहप्राध्यापक विनोद पोखरेलले जानकारी दिए । उनका अनुसार बंगालको खाडीबाट आएको उच्च जलवाष्पयुक्त वायु कमजोर हुँदै जाने देखिएकाले भारी वर्षा घट्ने संकेत देखिएको हो । उनका अनुसार आइतबार बिहानसम्म हल्कादेखि मध्यम वर्षा भने जारी नै रहनेछ ।