एजेन्सी, असोज १२
भारतको बेङ्लुरुमा नेपाली युवती महालक्ष्मीको क्रूर हत्या प्रकरणमा प्रहरीले केही नयाँ तथ्यहरू प्राप्त गरेको छ । आपसी विश्वासको कमीका कारण मुक्तिरञ्जन रायले रिसाएर यो कदम चालेको बेङ्लुरु प्रहरीले जनाएको छ । ३० वर्षीय मुक्तिरञ्जनले बुधबार ओडिसाको भद्रक जिल्लामा रहेको आफ्नो गाउँनजिकै आत्महत्या गरेका थिए ।
२९ वर्षीया महालक्ष्मीसँग उनको छ महिना लामो प्रेम सम्बन्ध थियो। तर, महालक्ष्मीले तुरुन्तै विवाह गर्न दबाब दिएपछि उनी तनावमा आएका थिए । महालक्ष्मीको हत्यापछि मुक्तिरञ्जनले आफ्ना भाइलाई फोन गरेर हत्याबारे जानकारी दिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीका अनुसार महालक्ष्मीका प्रेमी मुक्तिरञ्जनले हत्या गरी उनको शव ५९ टुक्रा पारी आफ्नै फ्ल्याटको फ्रिजमा राखेका थिए । महालक्ष्मीको हत्याको घटना गत शनिबार तीनतल्ले भवनका मालिकले उनकी आमा र बहिनीलाई फ्ल्याटबाट दुर्गन्ध आएको जानकारी दिएपछि बाहिर आएको थियो । भवनको पहिलो तल्लामा महालक्ष्मी बस्दै आएकी थिइन्। श्रीमान् हेमन्त दाससँग छुट्टिएपछि उनी एक्लै बस्दै आएकी थिइन् । उनकी छोरी बुबासँग बस्दै आएकी थिइन् ।
दुर्गन्धको खबरपछि महालक्ष्मीकी आमा र बहिनी पुगे । फ्ल्याटमा प्रवेश गर्नेबित्तिकै उनीहरूले फ्रिजनजिकै रगतका दागहरू र फ्रिजमा कीराहरू देखे। उनीहरूले फ्रिज खोल्दा महालक्ष्मीको शवका टुक्रा देखे । त्यसपछि दुवै जना चिच्याउँदै बाहिर आए । प्रहरी अनुसन्धानमा लागेपछि महालक्ष्मीका पति हेमन्त दास पनि घटनास्थल पुगेका थिए ।
उनले सेप्टेम्बर २०२३ मा असरफ नामका युवकसँग अफेयर’ भएका कारण महालक्ष्मी र आफू अलग भएको बयान दिए । नाम नबताउने सर्तमा एक प्रहरी अधिकारीले पनि असरफ र महालक्ष्मी सम्बन्धमा रहेको र केही समयअघि मात्रै छुट्टिएकोु पुष्टि भएको जानकारी दिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । उनका अनुसार असरफलाई पनि यस घटनाबारे सोधपुछ गरिएको छ र उनको गतिविधिमा पनि निगरानी राखिएको छ ।
प्रहरीले यस घटनाका सम्बन्धमा मुख्य अभियुक्त मुक्तिरञ्जन रायको खोजी गरिरहेको थियो । प्रहरी स्रोतका अनुसार महालक्ष्मीको जीवनमा उनका पहिलेका श्रीमान्बाहेक अर्का पुरुष पनि रहेको र त्यसपछि पनि आफूलाई विवाहका लागि दबाब दिएको भन्दै मुक्तिरञ्जन रिसाएका थिए । उनले यो कुरा आफ्ना भाइसँग भनेको प्रहरीको दाबी छ। यही दबाबका कारण उनीहरूबीच बारम्बार झगडा हुन थालको थियो र एकपटक मल्लेश्वरम प्रहरी चौकीसम्म पनि उनीहरू विवाद मिलाउन जाँदा प्रहरीले सम्झाइबुझाइ गरेर पठाएको थियो ।