टीकापुर, असोज १०
रेशम चौधरी र रञ्जिता श्रेष्ठबीच सहमति भएसँगै नागरिक उन्मुक्ति पार्टी टुक्रिएको छ । पति पत्नी समेत रहेका चौधरी र श्रेष्ठबीच संघीय र प्रदेश सरकारमा सहभागी हुने वा नहुने विषयदेखि विवाद सुरु भएको थियो ।
यो विवाद टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट छरपस्ट भएको थियो । रेशमलाल पहिलो महाधिवेशनबाट अध्यक्ष निर्वाचित भए पनि निर्वाचन आयोगले वैधानिकता नदिएपछि पार्टीभित्र पति–पत्नीबीच शक्ति संघर्ष चुलिएको थियो । त्यसपछि संघदेखि प्रदेशसम्म एक समूहले अर्को समूहलाई कारबाही गरेका थिए ।
पार्टी अध्यक्ष र पार्टी संरक्षकबीच तिक्तता र विवाद बढ्दै जाँदा पार्टी कमजोर भएको भन्दै फेरि दुवै मिलेर अगाडि बढ्ने सहमति भएको नेता चौधरीले बताए ।
उक्त महाधिवेशनका सदस्यहरूले वैधानिकताको माग गर्दै अदालतमा रिट दायर गरेका छन् ।
रेशम–रञ्जिताबीच अदालतमा मुद्दा जारी रहँदासम्म अध्यक्षको हैसियत श्रेष्ठले नै गर्ने समझदारी भएको छ ।
दुई जनाबीच समझदारी भए लगत्तै यसअघि कारबाही गरिएका दुई प्रदेश सभा सदस्यसहित पाँच जनाको कारबाही फुकुवा गरिएको छ । बागमती अध्यक्ष दीप तामाङ, गण्डकी अध्यक्ष राजन गुरुङ, केन्द्रीय सदस्य नवीन थापा, सुदूरपश्चिम संसदीय दलका नेता घनश्याम चौधरी र प्रदेश सभा सदस्य इन्दिरा गिरीको कारबाही फुकुवा भएको हो ।
रेशम निकट रहेको उनीहरू सबैलाई फरक फरक मितिमा रञ्जिताले नै कारबाही गरेकी थिइन् ।
असोज १८ र १९ गते काठमाडौँमा बस्ने बैठकमा पदाधिकारी तथा केन्द्रीय सदस्यहरूलाई अनिवार्य उपस्थित हुन पत्राचार गरिएको छ । केन्द्रमा दुई नेताबीच भद्र सहमति भए लगतै प्रदेश प्रदेशका २६ नेताहरूले पार्टी नै परित्याग गरेका छन् ।
केन्द्रीय उपाध्यक्ष विजय कुमार यादवको नेतृत्वमा २६ जना नेताहरूले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् ।
उनीहरू पार्टीको केन्द्रीय नेतृत्वले पार्टीभित्रको विवाद मिलाउन नसकेको, मूल मुद्दाबाट विमुख भएकोलगायत आरोप लगाउँदै पार्टीबाट अलग भएको जनाएका छन् ।
उपाध्यक्ष यादव र केन्द्रीय सदस्य मोहम्मद तनवीर अख्तर मिकरानीले हस्ताक्षर गरेको विज्ञप्तिमा पार्टीभित्र देखा पर्न थालेको सांगठनिक एवं सैद्धान्तिक विचलन तथा गलत प्रवृत्तिलाई सुधार गरेर भए पनि पार्टी बनाउने अठोटका साथ हिंडेका आफूहरूले पार्टीभित्रको गलत तत्वहरू नसुध्रिने छाँटकाँट देखेपछि यो अप्रिय निर्णय लिन बाध्य भएको उल्लेख गरेका छन् ।
राजेन्द्र महतोले भर्खरै गठन गरेको राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित हुने उनीहरूले बताएका छन् ।
राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित हुनेहरूमा यादवसँगै केन्द्रीय सदस्यहरू विरेन्द्र महतो (धनुषा), सुनिता कुमारी महतो (धनुषा), दिनेश यादव (धनुषा), विष्णुनारायण यादव (सिरहा), रामअशिष चौधरी (पर्सा), सरिता महतो चौधरी (पर्सा), पप्पुकुमार महतो (पर्सा), अफताब हवारी (पर्सा), अरुणकुमारी चौधरी (बारा), निराजन चौधरी (बारा), उर्मिला राणा (बारा), पप्पु कुमार बैठा (बारा) लगायत दुईदर्जन बढी केन्द्रीय नेताहरू छन् ।