टीकापुर, असोज १०
टीकापुर उद्योग वाणिज्य संघले डिएसपी विश्वराज अधिकारीको विदाई गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुखका रुपमा रहेका अधिकारीको सरुवा भएपछि संघले आज विदाई गरेको हो ।
उनको प्रहरी प्रधान कार्यालयले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रहरी शाखा काठमाण्डौंमा सरुवा गरेको छ । २०८० भदौ २७ गते इलाका प्रहरी कार्यालय टीकापुरको कमाण्ड सम्हालेका अधिकारीले शान्ति सुरक्षाका क्षेत्रमा सफलतापूर्वक कार्य सम्पादन गरेका छन ।
उनको एकवर्षे कार्यकाल विवाद रहित रहेको छ । यसअघिका दुईजना डिएसपीहरु विवादमा आएपछि छोटो समयमै सरुवा भएर गएका थिए । लगातार दुईजना डिएसपी सरुवा भएपछि टीकापुरमा प्रहरी नेतृत्व टिक्दैन भन्ने आरोप लाग्ने गरेको थियो ।
डिएसपी अधिकारी यस्तो विषम परिस्थितिमा टीकापुर प्रहरीको कमाण्ड सम्हाल्न आएका थिए । यतिबेला उनले आफ्नो कार्यशैलीले स्थानीयको मन जितेको चर्चा छ ।
अधिकारीको यही कार्य क्षमताको प्रशंसा गर्दै संघले फेरी भेटौला कार्यक्रमको आयोजना गरेर विदाई गरेको हो । संघले आयोजना गरेको विदाईका क्रममा डिएसपी अधिकारीले टीकापुरको माया बोकेर फर्किएको बताए ।
उनले टीकापुरको बसाईका क्रममा साथ सहयोग दिने सबैप्रति आभार व्यक्त गरेका छन । उनले निजी क्षेत्रको छाता संस्थाका रुपमा रहेको संघले समेत प्रहरीलाई सदैव सहयोग गरिरहेकोमा खुशी व्यक्त गरे ।
अब इलाका प्रहरी कार्यालय टीकापुरको कमाण्ड सम्हाल्न डिएसपी नविन राजा बुढाथोकी आउने भएका छन । नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालय नक्सालमा कार्यरत डिएसपी बुढाथोकीको इलाका प्रहरी कार्यालय टीकापुरको प्रमुखका रुपमा सरुवा भएको छ ।