Hamro Patra
टीकापुरमा रगत अभाव, उपचारमा समस्या 

टीकापुर, असोज ९
टीकापुरमा विगत एक साता यता रगतको चरम अभाव भएको छ । टीकापुर अस्पताल लगायत अन्य निजी अस्पतालमा समेत बिरामीको चाप बढेपछि रगतको अभाव बढेको हो । 

नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय टीकापुरको रक्तसञ्चार केन्द्रमा रगत माग गर्नेको संख्या बढेको छ । रक्तसञ्चार केन्द्रका अहेव पर्वराज जैशीले रगत उपलब्ध गराउन निकै कठिनाई भैरहेको जानकारी दिए । 

CMA Staff

उनले आज (बुधवार) मात्रै १६ पिन्ट रगत उपलब्ध गराएको बताए । उनका अनुसार हिजो अस्ती समेत यही हाराहारीमा रगत उपलब्ध गराईएको थियो । 

‘घोडाघोडी अस्पतालमा समेत यहीँबाट रगत पुर्याउनु परेको छ’ उनले भने–‘केही दिन यता रगत म्यानेज गर्न समस्या भैरहेको छ ।’ उनले धेरैजसो ए, बि र ओ पोजेटिभ समूहको रगत माग हुने गरेको बताए । 

रक्तदान गर्ने व्यक्तिको अभावका कारण पनि बिरामीले सहजै रगत पाउन सकेका छैनन् । कतिपयले रगत नपाएर रक्तसञ्चार केन्द्रमा पालो कुर्नुपरेको अवस्था छ । 

जानकी गाउँपालिकाकी एक ७ वर्षीया बालिकाले तीन दिनदेखी रगत पाएकी छैनन् । ती बालिकालाई हरेक तीन महिनामा ओ पोजेटिभ रगत आवश्यक पर्छ । रक्तसञ्चार केन्द्र अघि भेटिएकी ती बालिकाकी आमा रगत नपाएकोमा निरास देखिन्थिन । 

रक्तसञ्चार केन्द्रले रगतदानका लागि सबैसँग आग्रह गरेको छ । उसले विभिन्न व्यक्ति वा संघसंस्थाहरुलाई रक्तदान कार्यक्रमको आयोजना गरी स्थिति सहज बनाईदिन अनुरोध समेत गरेको छ । 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १६:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update