टीकापुर, असोज ९
इलाका प्रहरी कार्यालय टीकापुरका डिएसपी विश्वराज अधिकारीको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनको सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग प्रहरी शाखा काठमाण्डौंमा सरुवा गरेको हो । कार्यालयले अधिकारीको ठाउँमा डिएसपी नविन राजा बुढाथोकीलाई सरुवा गरेको छ ।
डिएसपी अधिकारीले २०८० भदौ २७ गते इलाका प्रहरी कार्यालय टीकापुरको नेतृत्व सम्हालेका थिए । उनले एक वर्ष नेतृत्व सम्हालेका छन । प्रहरीमा कुनै इञ्चार्जले एक वर्ष नेतृत्व सम्हाल्नुलाई सफल कार्यकाल मानिन्छ ।
उनले आफ्नो टीकापुरको बसाई सुखद रहेको प्रतिक्रिया दिएका छन । उनले टीकापुरबासीको साथ र सहयोगले आफ्नो बसाई सुखद रहेको बताए । ‘मैले राम्रो नराम्रो के गरे त्यसको मुल्यांकन टीकापुरबासीले गर्नेछन’ उनले भने–‘म टीकापुरको बसाई प्रति निकै खुशी छुँ ।’
उनले सुनेको टीकापुर र भोगेको टीकापुरमा निकै अन्तर रहेको बताए । उनले बाहिरी हल्लाकै कारण टीकापुर प्रतिको धारणा बनाउनु गलत भएको अनुभव सुनाए । ‘सरुवा भएर आउँदा म भित्र निकै डर थियो’ उनले भने–‘तर टीकापुर निकै सहज रहेछ ।’
उनले २०७२ सालको घटनालाई लिएर टीकापुरलाई बदनाम गर्ने काम भैरहेको बताउँदै आफ्नो एकवर्षे बसाईका क्रममा समुदायकाबीच त्यस्तो कुनै तिक्तताको महशुस समेत गर्न नपाएको बताए ।
उनले आफ्नो एकवर्षे बसाईका क्रममा टीकापुरबासीको अगाध साथ र सहयोग रहेको प्रति आभार व्यक्त गरेका छन ।
उनी इलाका प्रहरी कार्यालय टीकापुरको डिएसपी छोटो समयमै सरुवा भैरहेको अवस्थामा नेतृत्व सम्हाल्न पुगेका थिए । तत्कालिन अवस्थामा प्रहरी नेतृत्व प्रतिको आम मानिसको धारणा सकारात्मक थिएन । उनले आम मानिसको धारणालाई परिवर्तन गर्न सकेकोमा खुशी महशुस भैरहेको बताए ।
उनले टीकापुरको बसाईमा लागुऔषध नियन्त्रण, गुण्डागर्दी, फरार अभियुक्त पक्राउ र भन्सारमा हुने तस्करी नियन्त्रणमा उल्लेख्य काम गरेको बताए । उनले एकवर्षमा लागुऔषध नियन्त्रणका क्षेत्रमा समुदाय प्रहरी साझेदारी अन्र्तगत ३४० वटा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको जानकारी दिए ।
त्यस्तै उनले गुण्डागर्दीको जालो चिर्न सफल भई एकवर्षको अवधिमा त्यस्ता कुनै अपराधिक क्रियाकलाप हुन नसकेको बताए । उनले संलग्न केही व्यक्तिहरुलाई पक्राउ गरेर मुद्दा चलाएको जानकारी दिए ।
उनले सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणमा समेत उल्लेख्य सफलता हासिल गरेको दावी गरे । उनका अनुसार तस्करी नियन्त्रणमा ६६ प्रतिशत उपलब्धी हासिल भएको छ ।
उनले आफ्नो कार्यकालमा ८० जना फरार अभियुक्त पक्राउ गरेको बताए । अघिल्लो वर्ष १५ जना मात्रै फरार अभियुक्त पक्राउ परेका थिए । उनले अपराध गरेर उम्किन सकिदैन भन्ने सन्देश प्रवाह भएको बताए ।