Hamro Patra
नदीले धार परिवर्तन गर्दा पुलमा आवतजावत ठप्प

धनगढी, असोज ४
नदीले धार परिवर्तन गरेपछि झोलुङ्गे पुलमा आवतजावत ठप्प भएको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं. ९ भल्कास्थित खुटिया नदीमा बनेको झोलुङ्गे पुलमा आवतजावत ठप्प भएको हो ।

पौने तीन करोड लगानीमा गत वर्ष मात्रै सो पुल निर्माण कार्य सकिएको थियो । नदीको धार दक्षिणतिर भएको बेला पुल बनाइएकोमा अब नदीले उत्तरतिर धार परिवर्तन गरेपछि एक वर्षमै पुलमा आवतजावत ठप्प भएको छ ।

अस्ती आएको बाढीको क्रममा नदीले उत्तरतर्फको पहुँच मार्ग भत्कायो । अहिले पुलको पहुँचमार्गमा नदी बग्न थालेको छ भने पुल नदीको बिचमा परेको छ ।

Khadga Memorial And Janajagriti

जमिन कटान गर्दै नदी पुरानो धारमा फर्केका कारण अहिले पुल बेकामे बनेको स्थानीयको भनाइ छ । बेलैमा तटबन्ध गरेको भए अहिले यस्तो अवस्था नआउने उनीहरु बताउँछन् । स्थानीय भरतविक्रम शाहले पुलको उत्तरतर्फ नदीले गरिरहेको कटान नियन्त्रण गर्न आवश्यक रहेको भनेर झक्झक्याउँदा पनि सरोकारवालाले ध्यान नदिएपछि यो हविगत भएको बताए ।

‘पुलको उत्तरतर्फ नदीले कटान गरिरहेको छ । बेलैमा तटबन्ध गरेर कटान नियन्त्रण गरौं भनेर मैले जनप्रतिनिधिको ध्यानाकर्षण गराएको थिए’ उनले भने ‘तर, कसैले सुनुवाइ नगर्दा आज पुलको यो हालत भयो ।’

स्थानीयका अनुसार पहिले खुटिया नदी हाल पुल बनाइएको क्षेत्रभन्दा उत्तरतर्फबाट बग्ने गरेको थियो । पछि दक्षिणतर्फ आएको नदी अहिलेफेरि पुरानै ठाउँतिर धार परिवर्तन गरेपछि पुल ओहोरदोहोर गर्न नमिल्ने भएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारको दुई करोड ७० लाखमा निर्मित यो पुलको निर्माण कार्य गत वर्षमात्रै पूरा भएको थियो । २०७६ साल मङ्सिर ८ गते यो पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । काठमाडौँको खाम्पाचे थानी रुबिना जेभीले पुल बनाएको हो । यो पुल बनेपछि गोदावरी नगरपालिका वडा नं. ९ को राजफाँटा, बल्मी र सेहरीका स्थानीयलाई ओहोरदोहोर गर्न सहज भएको थियो ।

नदीको धार दक्षिणतर्फ रहेको बेला पुल बनाइएकोमा अहिले नदीले धार उत्तरतर्फ मोडेको वडा अध्यक्ष रामलाल रानाको भनाइ छ । उनले अब तटबन्ध गरेर नहुने भन्दै उत्तरतर्फ पुल थप्न आवश्यक देखिएको उल्लेख गरे ।

‘उत्तरतर्फ होचो भूभाग रहेकाले नदी उतै मोडिएको छ’ अध्यक्ष रानाले भने ‘त्यसैले तटबन्ध गरेर पुल जोगाउन सकिन्न बरु, उत्तरतर्फ पुल थप्नु उपयुक्त हुन्छ ।’

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  १७:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update