Hamro Patra
टीकापुरको पर्यटन विकासमा जोडिन आएका सुमार्गी

योगेश रावल
संघीय सरकार लगानीका लागि विदेशी दाता गुहार्दैछ । प्रदेश र स्थानीय सरकार स्वदेशी दाता गुहारिरहेका छन । कतिपयले लगानी सम्मेलन गरेर दाताहरुलाई आकर्षणको प्रयास गरिरहेका छन । उनीहरु विभिन्न प्रलोभन देखाएर लोभ्याईरहेका छन ।

तर टीकापुर नगरपालिकामा भने एकजना दाता लगानी गर्ने माहौल खोज्दै आईपुगेका छन । मुक्तिश्री प्रालिका अध्यक्ष अजयराज सुमार्गी पराजुली पर्यटन विकासको योजना बोकेर टीकापुर पुगेका छन । उनी अहिले नेपालका जल्दाबल्दा लगानीकर्ता हुन । हुन त उनको यो योजना नौलो भने हैन । उनले टीकापुरलाई पर्यटनको हब बनाउने योजना बनाएको करिव एक दशक बितिसक्यो । उनका अनुसार अध्ययनकै क्रममा झण्डै २० करोड रुपैयाँ खर्च भैसकेको छ । जसमा ५० जना इन्जिनियरले अध्ययन गरेर रिपोर्ट तयार पारेका छन । उनी त्यो रिपोर्टलाई व्यवहारमा उतार्न चाहन्छन ।

Khadga Memorial And Janajagriti

उनको योजनाको केन्द्र टीकापुर पार्क छ । जहाँ रहेको ३७४ विगाह जमिन ५० वर्षका लागि भाडामा लिन चाहन्छन । जहाँ पर्यटक लोभ्याउने ठूल्ठूला संरचना बनाईनेछ । जसमध्ये वाटर स्लाइड गेम, चिल्डे«न पार्क, पावर बोट, गो कार्ट, घोडे मैदान, वाटर डिस्को र रेन डान्स, भिडियो गेम, हात्ती सफारी, चिडियाखाना, गल्फ मैदान, पाँच तारे होटल, रेस्टुरेन्ट लगायत छन । जुन भौतिक संरचना निर्माण हुन करिव १० वर्ष लाग्ने बताईएको छ ।
यति मात्रै हैन । मुगुको रारा ताललाई चारैतिरबाट सडक सञ्जालले घेरिने छ । त्यसको प्राकृतिक संरचनालाई नबिगारेर होटल र रेस्टुरेन्ट निर्माण हुनेछन । तर खप्तडमा भने यस्ता भौतिक संरचना बनाईने छैन । उनका अनुसार भौतिक संरचना निर्माणले खप्तडको सुन्दरतालाई बिगार्नेछ । त्यस्तै उनको अर्को गन्तव्यस्थल कैलाश मानसरोवर हो । जहाँ कैयौं भारतीय नागरिक वर्षेनी तीर्थयात्राका लागि जान्छन । भारत सरकारले तिनै तीर्थयात्रीलाई बजेट उपलब्ध गराउँछ । उनीहरु हवाई मार्ग हुँदै त्यसतर्फ जाने गरेका छन ।

सुमार्गीको योजना ती सबै भारतीय तीर्थयात्रीलाई टीकापुरहुँदै मानसरोवर पु¥याउने लक्ष्य छ । जसमा पैदल, हवाई र जल मार्ग प्रयोग हुनेछन । उनी कैलाश मानसरोवर जाने तीर्थयात्रीलाई सत्तीस्थित पदम प्रकाशेश्वर मन्दिरमा भित्र्याउन चाहन्छन । उनले सो मन्दिरको स्थलगत भ्रमण गरेपछि टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावललाई भने–‘यतिधेरै पौराणिक मान्यता बोकेको मन्दिरको क्षेत्रफल ज्यादै कम भयो । तपाई अधिग्रहणका लागि पहल गर्नुस् म बजेटको व्यवस्था गर्छु ।’

उनले सो मन्दिरका अलावा टीकापुर पार्क, सीमा क्षेत्र, डल्फिन क्षेत्र, बेतबाँस लगायतको स्थलगत भ्रमण गरे । उनीसँगै मैले पनि घुम्ने मौका पाए । उनले हरेक ठाउँको बारेमा निकै ध्यान दिएर कुरा सुने । उनको प्रतिक्रिया निकै सकारात्मक छ ।

उनको कुरा सुन्दा उनी टीकापुरसँग पहिले देखी नै परिचित छन । उनले टीकापुरको सम्भावना पहिल्यै देखेका थिए । जुन कुरा उनी नेतृत्वको मुक्तिश्री प्रालिले केही वर्ष अघि नै टीकापुरको पर्यटन विकासका बारेमा चलाएको छलफलबाट प्रष्ट हुन्छ । केही वर्ष अघि माननीय डा. रणबहादुर रावलको पहलमा यो कुराका बारेमा छलफल भएको थियो । त्यतिबेला सुमार्गीका बारेमा अहिले जस्तो सबैलाई जानकारी थिएन । भरखरै मुलुक गणतान्त्रिक व्यवस्थामा प्रवेश गरेको थियो । स्थानीय निकायमा जनप्रतिनिधि थिएनन् । राजनीतिक संयन्त्रले यस्ता कुरामा ठोस निर्णय दिन्थ्यो ।

एकदिन टीकापुर पार्कलाई भाडामा दिने बारेमा छलफल भैरहेको थियो । एकजना तत्कालिन माओवादीका नेताले निकै विरोध गरे । त्यसपछि पार्क आसपासका बासिन्दाले गाईवस्तुको घाँसपात र दाउराको चिन्ता गरे । उनीहरुले टीकापुर पार्कलाई भाडामा दिने कुराको निकै धेरै विरोध गरे । त्यो छलफल त्यसै टुङ्गियो । यो विषयले त्यसपछि चर्चा पाएन ।

यतिबेला फेरी टीकापुर पार्क भाडामा दिने कुराका बारेमा छलफल सुरु भएको छ । सुमार्गीले योजना पूर्ण कार्यान्वयन हुँदासम्म २०० अर्ब रुपैयाँ लगानी हुने बताएका छन । उनले यो सबै रकम आफूले मात्रै लगानी नगर्ने बताए । यसमा स्थानीयको समेत लगानी हुनुपर्ने बताएका छन । स्थानीयको समेत लगानी भयो भने योजना प्रति सबैको अभिभावकत्व हुने उनको ठहर छ । उनले अन्य बाह्य लगानीकर्तालाई समेत भित्र्याउने बताएका छन ।

सुमार्गी एक सफल व्यवशायी हुन । उनको लगानीको स्रोत के हो ? त्यो हाम्रा लागि चाँसोको विषय हैन । किनकी यति ठूलो लगानी गर्दा राज्यले पक्कै यस बारेमा बुझेर मात्रै अनुमति दिनेछ । उनले सबै कानूनी प्रकृया पूरा गरेरै लगानी गर्नेछन । जुन लगानीले हाम्रो ठाउँको विकास हुनेछ । यसको प्रत्यक्ष फाइदा हामीलाई नै हुनेछ ।

हो, उनले लगानीको प्रतिफल खोज्नेछन । कुनैपनि व्यवशायीले प्रतिफलको अपेक्षा नगरेर लगानी गर्दैन । उनले भनेका पनि छन–‘म लेन देनको नीति अनुसार लगानी गर्छु । लेन देन गर्नु व्यवशाय हो । म आफ्नो लगानी डुबाउन आएको हैन । मसँग योजना छ । जसले मलाई मात्रै हैन तपाईहरुलाई समेत फाईदा पुग्नेछ ।’

उनले मुक्तिनाथको प्रशंग सुनाए । उनको नेतृत्वमा मुक्तिनाथको बारेमा प्रचार गर्न भारतको १११ स्थानमा महायज्ञ आयोजना गरियो । जहाँ मुक्तिनाथको महत्वका बारेमा प्रचार गरियो । यसले हिन्दु धर्म प्रति आस्था राख्ने भारतीयको ध्यान खिच्यो । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मुक्तिनाथ दर्शनका लागि निम्तो पठाए । मोदी आए । अहिले वार्षिक ३ लाख भारतीय मुक्तिनाथ पुग्ने गरेका छन । उनी मुक्तिनाथ व्यवस्थापनका अध्यक्ष समेत हुन ।

उनको अबको लक्ष्य नैमीशारण्यदेखी सत्तीस्थत पदम प्रकाशेश्वरहुँदै कैलाश मानसरोवर छ । उनले टीकापुरलाई कैलाश मानसरोवरको प्रवेशद्वार बनाउन सकिने बताएका छन । उनले कैलाश मानसरोवर पुग्न नसक्ने तीर्थयात्रीका लागि टीकापुरमै त्यसको ठूलो प्रतिमा निर्माण गर्न सकिने बताए ।

सुमार्गीको योजना हामी टीकापुरबासीका लागि निकै खुशीको कुरा हो । यसमा हामी सबैको एकमत हुन जरुरी छ । यसले हामी टीकापुरबासीको भविष्यलाई सुन्दर बनाउने सन्देश बोकेको छ । यति मात्रै हैन यस योजनाले समग्र सुदूर र मध्यपश्चिमको समेत सुन्दर भविष्य बोकेको छ । हाम्रो सुन्दर भविष्यसँग जोडिएको यस योजनाले चाँडै सार्थकता पाओस् शुभकामना ।

तस्वीरः मुक्तिश्री प्रा.लि.ले योजना अन्र्तगत टीकापुर पार्कमा निर्माण गरिने परिकल्पना गरेका
         संरचनाको प्रारुप

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update