Hamro Patra
सुदूरपश्चिम विश्वविद्यालयले जलवायु सम्बन्धी अध्यापन शुरु गर्दैः उपकुलपति पन्त

टीकापुर, असोज ४
सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर हेमराज पन्तले विश्वविद्यालयले आर्टिफिसिएल इन्टेलीजेन्स (एआई) र जलवायु परिवर्तन सम्बन्धी विषयमा अध्यापन गर्ने तयारी गरिरहेको बताएका छन् । 

टीकापुरमा हिजो आयोजित सुदूरपश्चिम विश्वविद्यालयको कार्यादिशा, अवसर र चुनौति विषयक अन्तरक्रिया कार्यक्रममा नेपालकै लागि नयाँ मानिएका विषयहरुमा अध्यापन गराउने तयारी भइरहेको बताएका हुन् । 

‘विश्वकै लागि चिन्ताको विषय मानिएको जलवायु परिवर्तनबारे पाठ्यक्रम विकास गरेर अध्यापन गर्ने तयारी विश्वविद्यालयले गरेको छ’ उपकुलपति प्राध्यापक डाक्टर पन्तले भने ‘विश्वमै नयाँ मानिएका एआई र हर्बल साइन्स जस्ता विषय अध्यापनका लागि हामीले तयारी शुरु गरिसकेका छौं ।’

Khadga Memorial And Janajagriti

सुदूरपश्चिम विश्वविद्यालयको पाठ्यक्रम नेपालकै उत्कृष्ठ पाठ्यक्रम रहेको दाबी गर्दै उपकुलपति पन्तले विश्वविद्यालयप्रति भ्रामक हल्ला फैलाउने प्रयास भइरहेको भन्दै चिन्ता व्यक्त गरे । 

‘सुदूरपश्चिम विश्वविद्यालयको सर्टिफिकेट बिक्दैन भनेर हल्ला फैलाइएको छ’ उपकुलपति पन्तले भने ‘स्थापनाको छोटो समयमै देशभरका ३२ क्याम्पसलाई सम्बन्धन दिएका छौं, विद्यार्थी संख्याको हिसाबमा त्रिभुवन विश्वविद्यालयपछि दोश्रोमा हाम्रो विश्वविद्यालय छ, यसको पाठ्यक्रम निकै उत्कृष्ठ हुनाले विश्वका जुनसुकै कुनामा पनि विश्वविद्यालयको सर्टिफिकेटले मान्यता पाउन कसैले रोक्न सक्दैन, हल्लाका पछाडि हामी नलागौं ।’

कार्यक्रममा बोल्दै विश्वविद्यालयका रजिष्टार यज्ञराज पाठकले नेपाल सरकारले नै विश्वविद्यालयलाई पूर्णता दिन इन्कार गरिरहेको दाबी गरे । ‘विश्वविद्यालय खोल्ने निर्णयमै सिद्धनाथ विज्ञान क्याम्पस कञ्चनपुरलाई विश्वविद्यालयमा गाभेर केन्द्रिय क्याम्पस बनाउने उल्लेख छ’ रजिष्टार पन्तले भने ‘त्यो क्याम्पस अहिलेसम्म हामी मातहत आइसकेको छैन, सरकारले दरबन्दी थप्ने कुरामा अल्झाई रहेको छ, जसले गर्दा विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न समेत समस्या भइरहेको छ ।’

रजिष्टार पन्तले विश्वविद्यालयको पहिलो दिक्षान्त समारोहमा १ शय ४६ जना विद्यार्थी दिक्षान्त भएको स्मरण गर्दै भने ‘दोश्रो दिक्षान्त समारोहमा १ हजार ४ शय विद्यार्थी दिक्षान्त भएका छन्, यसले पनि विश्वविद्यालयको नतिजा वृद्धि हुने क्रममा रहेको देखाउँछ ।’

विश्वविद्यालयको प्रमुख प्राथमिकतामा स्कुल अफ एग्रिकल्चर टीकापुर रहेको उल्लेख गर्दै रजिष्टार पन्तले कृषि विषयको अध्यापनमा सहजताका लागि १५ करोड लागतमा भवन निर्माण भइरहेको बताए ।

‘कृषिका विद्यार्थीलाई व्यावसायिक बनाउनका लागि हामीले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा टीकापुरमा इक्युवेशन सेन्टर निर्माण गरिरहेका छौं’ रजिष्टार पन्तले भने ‘यसले कृषि विषय देशमै नमूना बन्नेछ, त्यो टीकापुरले प्रमाणित गर्दै गइरहेको छ ।’

कार्यक्रममा बोल्दै विश्वविद्यालयको कृषि विज्ञान संकायका डीन डाक्टर विष्णुबिलास अधिकारीले कृषि विषयको अभ्यासका लागि संकायलाई जग्गाको समस्या रहेको बताए ।

‘हामीले कृषि, पशुपालन, पुष्प खेती आदिमा व्यावहारिक ज्ञान दिन खोजिरहेका छौं, तर हामीलाई जग्गाको अभाव छ’ डीन अधिकारीले भने ‘स्कुल अफ एग्रिकल्चर टीकापुरमा अध्ययन गरिरहेका विद्यार्थीहरुले यही वर्षदेखि १५ विघा जमिनमा धानको बिउ उत्पादन शुरु गरेका छन्, यसलाई विस्तार गरेर समुदायसँग पुर्याउन हामी आतुर छौं, यसको बृहत् अध्ययन, अनुसन्धानका लागि हामीलाई जग्गाको अभाव छ, यो समुदायले नै व्यवस्था गर्नुसक्छ ।’

कार्यक्रमका अधिकांश वक्ताले विश्वविद्यालयको गुणस्तर वृद्धिका लागि आवश्यकता अनुसार नयाँ विषय अध्यापन गराउन, गुणस्तरमा ध्यान दिन र शैक्षिक ज्ञानसँगै व्यावहारिक अभ्यासमा पोख्त बनाउनेतर्फ ध्यान दिन सुझाव दिएका छन् । 

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्य हेमराज भट्टराई, संविधान सभा सदस्य हरि ज्ञवाली अखण्ड, डाक्टर योगेन्द्रप्रसाद बजगाई, उमा महतौ, टेकराज रेग्मी, रंगप्रसाद अधिकारी, प्रकाश शाह, हरिष न्यौपाने, नबलसिंह खड्का, ताराप्रसाद जोशी, मातृका प्रसाद तिमिल्सेना, प्रकाश खड्का लगायतले आफ्ना धारणा राखेका थिए । 

विश्वविद्यालयको शिक्षा शास्त्र संकायका डिन डाक्टर भवानसिंह चलाउनेले विश्वविद्यालयको वर्तमान अवस्थाबारे प्रस्तुति गरेका थिए । टीकापुर बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख ढबिन्द्र रावलको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण सहप्राध्यापक बालकुमार चौधरीले गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, असोज ४, २०८१  ०९:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update