Hamro Patra
अतिक्रमण क्षेत्रमा गएर फुलमाला लगाउँदै वन मन्त्री 

धनगढी, असोज ३
वन कार्यालयले सामुदायिक वन क्षेत्रभित्र अतिक्रमण गरेको भन्दै हटाइएको अतिक्रमकारी बसेकै ठाउँमा सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लक्ष्मण किशोर चौधरी फुलमाला लगाई रहेका छन् । 

वन अतिक्रमण हटाइएको भजनी नगरपालिका वडा नं. १ स्थित मोहन्याल सामुदायिक वनमा अतिक्रमण गरी बसेका अतिक्रमणकारीहरुलाई वन कार्यालयले हटाएको थियो । उनीहरुले वनकै क्षेत्रमा अतिक्रमण गरी बसिरहेका बेला वन मन्त्री चौधरीले बस्तीमै पुगेर फुलमाला लगाइरहेका हुन् । 

Khadga Memorial And Janajagriti

डिभिजन वन कार्यलय पहलमानपुरले वन अतिक्रमण न्यूनिकरण तथा नियन्त्रणका लागि अतिक्रमणकारीहरुलाई हटाएको थियो । सो वन क्षेत्रमा बाढी पीडितका नाममा अतिक्रमणकारीहरु बस्दै आएका थिए । सोही वन क्षेत्रमा जमिन अतिक्रमण गरी घर टहरा निर्माण गरेर बसेको बस्तीमा पुगेर विभागीय मन्त्री चौधरीले फुलमाला लगाउँदा संरक्षणकर्मीहरु चिन्तित बनेका छन् ।

भजनीकै पशुपति सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष भिमबहादुर चौधरीले अतिक्रमण गरी बसेको वन क्षेत्रमै मन्त्री पुगेर फुलमाला लगाउँदा आफू छक्क परेको बताए ।

‘मन्त्री आएका छन् भन्ने कुरा सुनेपछि म पनि बुझ्न गएको थिएँ’ अध्यक्ष चौधरीले भने ‘मन्त्रीज्यू फुलमाला लगाएर बस्नु भएको थियो, यो देखेर म आफै अचम्ममा परें ।’ अध्यक्ष चौधरीले लामो समयदेखि आफूहरुले वन संरक्षण गरिरहँदा अतिक्रमणकारी बसेको ठाउँमा मन्त्री पुगेर फूलमाला लगाउनुले संरक्षणमा निराशा आएको बताए । 

यसअघि समेत तत्कालीन विभागीय मन्त्री रमेश धामीले वन अतिक्रमणको मुद्दामा पक्राउ परी कारबाहीका लागि सिफारिस भएका जीतु बडैलालाई वन सुरक्षा शाखाबाटै भगाएका थिए । यी घट्नाले जिल्लामा वन संरक्षण गर्नु निकै चुनौतिपूणर् रहेको संरक्षणकर्मी डण्डीराज सुबेदीले बताए ।

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update