Hamro Patra
इनफ अभियान साझा बनाउन सुझाव

धनगढी, असोज ३ 
वल्र्ड भिजन इन्टरनेशनल नेपालले आजदेखी सुरु गरेको स्वास्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षाका लागि इनफ अभियान साझा बनाउनुपर्नेमा सरोकारवालाले सुझाव दिएका छन । 

अभियान सुरु गरेको जानकारी दिने उद्देश्यले आयोजित समारोहमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री, मन्त्री र साँसदहरुले साझा अभियान बनाउने बारे सुझाव दिएका हुन । 

उनीहरुले गैर सरकारी संस्था एक्लैले यस्तो अभियान सञ्चालन गर्दा लक्ष्य प्राप्तीमा समस्या हुनसक्ने भन्दै साझा अभियान बनाएर अघि बढ्नुपर्ने बताए । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले हातेमालो गरेर अभियान सफल बनाउनुपर्ने बताए । उनले यस्ता अभियान सञ्चालन गर्दा राज्यका निकायसँग सल्लाह र समन्वय गर्नुपर्ने बताए । 

Khadga Memorial And Janajagriti

‘सहकार्य गरे गन्तव्यमा पुग्न सहज हुन्छ नत्र सार्थक परिणाम आउन सक्दैन’ उनले भने –‘यस्ता अभियानमा हामीलाई पनि सामेल गर्नुस हामी हातेमालो गर्न तयार छौं ।’

सोही अवसरमा सामाजिक विकास मन्त्री मेघराज खड्काले प्रदेश सरकारका तर्फबाट पनि अभियानलाई सहयोग पुर्याउने विभिन्न कार्यक्रम सञ्चालन भैरहेको बताए । उनले प्रदेश सरकारका कार्यक्रमसँगै अभियानले सहकार्य गरे उपलब्धी हासिल हुने बताए ।

‘पोषण सुधारका क्षेत्रमा हाम्रा पनि थुप्रै कार्यक्रम छन । ती कार्यक्रमसँगै समुदाय स्तरमा गए राम्र्रै होला’ उनले भने –‘सहकार्य गरौं । हामीबाट प्रयाप्त सहयोग रहन्छ ।’

त्यस्तै भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री बिरबहादुर थापाले आफ्नो मन्त्रालयका सबै कार्यक्रमले पोषण सुधारका काममा सघाउने गरेको   बताए । उनले पोषण सुधारका क्षेत्रमा लगानी कम भएको कुरामा सत्यता नभएको दावी गरे । 

‘हाम्रो मन्त्रालयका सबै कार्यक्रमले पोषण सुधारलाई सहयोग पुर्याउने गरेको छ’ उनले भने –‘कुपोषण अन्त्य हामी सबैको साझा लक्ष्य हुनुपर्छ । हामी त्यसमा प्रष्ट छौं ।’

उनले यस्ता साझा अभियानमा सरकारको मात्रै जिम्मेवारी नहुने बताउँदै हरेक नागरिकले आफ्नो जिम्मेवारी बहन गर्नुपर्ने बताए । 

सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री समेत रहेका साँसद अक्कल बहादुर रावलले सबैको साझा संकल्प आवश्यक रहेको बताए । उनले भाषण र नाराले मात्रै यस्ता अभियान सफल नहुने बताउँदै कार्यान्वयनमा सबैले हातेमालो गर्नुपर्ने बताए ।

‘यो काम वल्र्ड भिजनको मात्रै हो भन्ने हाम्रो बुझाई भयो भने अभियान सफल नहुन सक्छ’ उनले भने –‘यसको सफलताका लागि सबैको साझा संकल्प आवश्यक छ ।’

डोटीबाट निर्वाचित साँसद चक्र मल्लले सुदूरपश्चिममा पोषण आहारको अभाव नरहेको बताए । उनले सुदूरपश्चिममा उत्पादन हुने हरेक खानेकुरा पोषणयुक्त रहेको बताए ।

‘हामी कहाँ पोषणको कुनै कमी छैन । हामीले उत्पादन गर्ने सबैकुरा पोषणयुक्त छन’ उनले भने –‘हामी सबै एकसाथ जुट्यौ भने कुपोषण अन्त्य गर्न सकिन्छ र अभियान सफल हुन्छ ।’

समारोहमा बाल सहभागीका तर्फबाट कृष्णपुर नगरपालिकाकी बिनिता धामीले पोषणयुक्त खानाले मानिसको मानसिक र शारीरिक वृद्धि विकास हुने बताउँदै यस्तो अभियानमा सबैले साथ दिन आग्रह गरिन ।

वल्र्डभिजन इन्टरनेशनल नेपालले सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डोटी, अछाम र बझाङ गरी पाँच जिल्लामा कार्यक्रम गर्दै आएको छ । उसले तत्काल यो अभियान ती पाँच जिल्लामा मात्रै लागु हुने जानकारी दिएको छ । 

तर सरोकारवालाले भने यो अभियान सुदूरपश्चिमका नौवटै जिल्लामा लागु हुनुपर्ने बताएका छन । उनीहरुले सुदूरपश्चिमका अन्य चार जिल्लाको कुपोषणको अवस्था समेत दयनीय रहेको बताए । 

वल्र्ड भिजन इन्टरनेशनल नेपालका फिल्ड अफिसर अनुप रानाले सुझावका आधारमा अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । ‘प्रदेश सरकारबाट आएका कुरालाई सक्दो सम्बोधन गर्ने प्रयास गरिनेछ’ उनले भने –‘हाम्रो क्षमताले भ्याएसम्म काम गर्छौ ।’

उनले आफूहरु विकास साझेदार भएकाले आफूहरुको उद्देश्य समेत सरकारको काम कारवाहीमा सहयोग पुर्याउने रहेको बताए । उनले यसलाई अन्त्य नभई सुरुवात भएको रुपमा बुझ्न आग्रह गरे ।

वल्र्डभिजन इन्टरनेशनल नेपालले यो अभियान देशभर सात प्रदेशका १६ जिल्लामा सुरु गरेको छ । उसले अभियानमा ६ लाख बालबालिका लाभान्वित हुने बताएको छ । 

प्रकाशित मिति: बिहीबार, असोज ३, २०८१  १८:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update