Hamro Patra
खुला सीमा नाकाले पशुपन्छीजन्य रोग भित्रिने समस्या

 टीकापुर, फागुन २

कृषि तथा पशुपन्छी विकास मन्त्रालय पशु सेवा विभाग सार्क आर एस युको आयोजनामा आज टीकापुरमा महामारीजन्य र सीमाबिहिन पशुपन्छी रोगहरु सम्बन्धी सीमा क्षेत्रका सरोकारवालाहरुसँग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश प्रमुख प्रतिपक्षी दलका नेता डा. रणबहादुर रावलले खुला सीमा नाकाका कारण पशुपन्छी मार्फत भित्रिने रोग भित्रिने गरेको बताए । उनले खुला सीमा नाकाबाट पशुपन्छी भित्रिने क्रमलाई रोक्नु प्रहरी प्रशासनको मात्रै जिम्मेबारी नभई आम नागरिकको समेत दायित्व भएको बताए । उनले सीमा नाकामा क्वारेन्टाइन चेकजाँचको भरपर्दो व्यवस्था हुनुपर्नेमा जोड दिए । सो कार्यक्रममा टीकापुर नगरपालिकाका उपमेयर केशरी रावल बिष्टले खक्रौलामा क्वारेन्टाइन स्थापना अपरिहार्य भएको बताईन ।

Khadga Memorial And Janajagriti

उनले द्वन्द्वकालमा हटेको क्वारेन्टाइन पुर्नस्थापनाका लागि नगरपालिकाका तर्फबाट प्रयास भैरहेको जानकारी दिईन । कार्यक्रममा टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले क्वारेन्टाइनको अभावमा भन्सार राजश्व असुलीमा समेत समस्या भैरहेको बताए । उनले क्वारेन्टाइन चेकजाँचको व्यवस्था हुनुपर्नेमा जोड दिए । कृषक ललित थापा शिवले खुला सीमा नाका मार्फत पशुजन्य रोग भित्रिने गरेका कारण समस्या भैरहेको बताए । उनले पशुपन्छीमा खोरेत लगायतका रोग प्रमुख समस्याका रुपमा रहेको बताए ।

सो अवसरमा डा. मदनसिँह धामीले मान्छेमा देखिने रोगको स्रोत पशुपन्छी भएको बताए । उनले ६० प्रतिशत रोग पशुपन्छीबाट मानिसमा सर्ने, ७५ प्रतिशत रोगको स्रोत पशुपन्छी रहेको जानकारी दिए । उनले सरकारले पशुपन्छीबाट सर्ने २४ वटा रोग राजपत्रमा सूचिकृत गरेको बताए । भारतसँग सीमा जोडिएका २० र चीनसँग सीमा जोडिएका १ ठाउँमा क्वारेन्टाइन चेकजाँच हुने गरेको छ । यसका अलावा विभिन्न स्थानमा आन्तरिक क्वारेन्टाइन चेकजाँच समेत हुने गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, फागुन २, २०७६  १५:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update