Hamro Patra
बाढीले दुई सीमास्तम्भ बगायो, दर्जनौँ जोखिममा

धनगढी, भदौ ३१
निरन्तर आएको बर्सातपछिको बाढीले कैलालीमा रहेका दुई वटा सीमास्तम्भ बगाएको छ । धनगढी उपमहानगरपालिका र भजनी नगरपालिकामा रहेका अन्तर्राष्ट्रिय सिमाना छुट्याउने सीमास्तम्भलाई बाढीले बगाएको हो । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेड क्वाटर धनगढीका अनुसार धनगढी उपमहानगरपालिका वडा नं. ९ स्थित मोहना नदी पारी रहेको ६५०/२ नम्बरको पिल्लरलाई शुक्रबार आएको बाढीले बगाएको छ । सो सीमास्तम्भ कटानको जोखिममा परेपछि बालुवाले भरिएको बोरा त्यसको वरिपरि राखिएको थियो । बाढीले त्यो सीमास्तम्भलाई बगाएर लगेको सशस्त्र प्रहरी उपरीक्षक दलबहादुर पाण्डेयले जानकारी दिए । 

Khadga Memorial And Janajagriti

यस्तै भजनी नगरपालिका वडा नं. ७ मा रहेको ७२१/२ नम्बरको सीमास्तम्भलाई पनि बाढीले बगाएको छ । अघिल्लो बाढीले यो सीमास्तम्भलाई बगाएको जनाइएको छ । सोही वडामै रहेको ७२१/४ नम्बरको सीमास्तम्भमा बाढीले क्षति गरेको छ । बाढीका कारण सीमास्तम्भले कोल्टे फेरेको जनाउँदै सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले यसलाई सिधा गर्न बाँकी रहेको बताए । 

यसैगरी धनगढी उपमहानगरपालिका वडा नं. १९, लल्लीपुरमा मोहना नदी पारी रहेको ७३४/८ नम्बरको सीमास्तम्भलाई पनि बाढीले क्षति गरेको छ । ‘यो सीमास्तम्भलाई बाढीले बगायो वा त्यहीँनिर छ भन्ने कुराको यकिन भइसकेको छैन’ सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले भने ‘सम्भवतः पानीभित्र रहेको हामीले आशङ्का गरेका छौँ ।’

नेपाल-भारत सिमाना मोहना नदीसँगै रहेको छ । कतै मोहना नदीपारि नेपाल त कतै मोहना नदीवारि भारतको भू-भाग परेको छ । दुई देशको सिमाना नदी सँगसँगै परेका कारण धेरै जसो सीमास्तम्भ नदी आसपासमै छन । 

नदी आसपासमा रहेका दर्जनौँ सीमास्तम्भ जोखिममा रहेका जनाइएको छ । अझै पनि आठदेखि १० वटासम्म सीमास्तम्भ पानीभित्रै डुबेको अवस्थामा रहेको सशस्त्र प्रहरी उपरीक्षक पाण्डेयले बताए । 

यसैगरी बाढीका कारण डुबेका पाँच/सात वटा सीमास्तम्भ बाढी घटेपछि देखिएका छन् । बाढीमा डुबेका ती सीमास्तम्भ ठिक अवस्थामै रहेको उहाँले जानकारी दिए । 

कैलालीमा नेपाल-भारत सीमा छुट्याउने मुख्य र सहायक गरी २८२ वटा सीमास्तम्भ रहेका छन् । सीमास्तम्भ बिग्रेमा नेपालले बिजोर र भारतले जोर नम्बरका सीमास्तम्भ मर्मत गर्ने दुवै देशका अधिकारीबिच सहमति भएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update