Hamro Patra
सुदूरपश्चिमले ल्याउने भयो एकै वर्ष दुई बजेट

धनगढी, भदौ ३१

एकै वर्षको बजेट वक्तव्य दुई पटक प्रस्तुत गरेर नौलो अभ्यास गर्दै सुदूरपश्चिम प्रदेश सरकारले सोमबार चालु आर्थिक वर्षको बजेट ल्याउने भएको छ । बजेटको तयारी पूरा भएको मुख्यमन्त्री कमलबहादुर शाहले बताएका छन् । दुई महिनादेखि सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यतामा छ । 

प्रदेशसभा बैठकको कार्यक्रमअनुसार सोमबार सुरुमा आर्थिक मामिलामन्त्री बहादुरसिंह थापाले यसअघि मन्त्री सुरेन्द्रबहादुर पालले गत असार १ मा प्रदेशसभामा पेस गरेको बजेटसम्बन्धी विधेयक फिर्ता लिनेछन् । त्यसपछि वर्तमान सरकारले तयार गरेको नयाँ बजेट टेबल गर्नेछन् । बजेट टेबल गरिसकेपछि मन्त्री थापाले चालु आर्थिक वर्ष ०८१/८२ का लागि बजेट वक्तव्य प्रस्तुत गर्ने कार्यसूची छ ।

Khadga Memorial And Janajagriti

‘यसअघि पेस भएको बजेट छलफलमै गएन । तसर्थ उक्त बजेट फिर्ता लिएर आर्थिक मामिलामन्त्रीले नयाँ बजेट वक्तव्य प्रस्तुत गर्नुहुनेछ’ सचिव झलकराम अधिकारीले भने ‘अघिल्लो सरकारले ल्याएकै अंकमा बजेट ल्याउन लागिएको छ ।’ यसअघि ३१ अर्ब ६२ करोडको बजेट पेस गरिएको थियो ।

नयाँ बजेट निर्माणका क्रममा चार वटा आधार तयार गरिएको मुख्यमन्त्री शाहले जनाए । २५ लाखभन्दा माथिका योजना राख्ने, आवश्यकता र औचित्यका आधारमा २५ लाखभन्दा कम बजेट विनियोजन गर्नुपर्ने भए कार्ययोजनासहित सशर्त अनुदानका रूपमा स्थानीय तहलाई वित्तीय हस्तान्तरण गर्ने, प्रदेश सरकारबाट व्यक्ति, समूह, संस्था, निजी फर्म, कम्पनी र सहकारीलाई बजेट तोकेर विनियोजन नगर्ने र प्रदेश सरकारबाट कार्यान्वयन हुने कुनै पनि योजना उपभोक्ता समितिमार्फत नगरिने आधार तय गरिएको मुख्यमन्त्री शाहको भनाइ छ ।

यसअघि दीर्घबहादुर सोडारी नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको सरकारले असार १ मा प्रदेशसभामा प्रस्तुत गरेको बजेट छलफलमै जान नसकेर अलपत्र परेको थियो । सोडारी नेतृत्वको सरकार ढलेपछि साउन २१ मा कांग्रेस नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको सरकार गठन भएको छ । यही सरकारले नयाँ बजेट ल्याउन लागेको हो ।

मुख्यमन्त्री शाहले चार वटा आधार तयार गरेर बजेटलाई पारदर्शी बनाउने बताए पनि विगतमा सांसदहरूलाई योजनाका लागि बजेट दिने कार्यक्रमलाई वर्तमान सरकारले घुमाउरो बाटोबाट समावेश गर्ने भएको छ । विगतमा जस्तो निर्वाचन क्षेत्र विकास कोष (सांसद कोष) नाम नदिए पनि प्रत्यक्ष निर्वाचित सांसदलाई चार करोड र समानुपातिक सांसदलाई दुई करोड बराबर रकम विनियोजन गरेर सरकारले योजना बजेटमा समावेश गर्ने तयारी गरेको छ । सरकारले सांसदहरूको सिफारिसका योजनाका लागि एक अर्ब ७० करोड विनियोजन गरेको जनाएको छ । ‘प्रभावशाली सांसदहरूका त त्योभन्दा बढी बजेटका योजना पनि समावेश भएका हुन सक्छन्,’ एक मन्त्रीले भने ।

चार महिनासम्म बजेट शून्यतामा रहेको सुदूरपश्चिममा बजेटका कारण चौतर्फी असर परेको सरोकारवाला बताउँछन् । विगतका वर्षमा असार १ मा बजेट आएर साउन १ देखि कार्यान्वयनमा जाने अवस्था थियो । तर यस वर्ष अहिलेसम्म सम्पूणर् आर्थिक क्रियाकलाप ठप्प छन् । कर्मचारीहरूले तलब पाएका छैनन् भने प्रदेश सरकारका सम्पूणर् कार्यालयका दैनिक प्रशासनिक कार्य पनि उधारोमा चलिरहेका छन् ।

बजेट दुई महिना ढिला हुँदा यसको कार्यान्वयनमा गम्भीर असर पर्ने स्वयं सांसद बताउँछन् । ‘असारमै बजेट आएको भए दसैंअघि कार्यक्रम कार्यान्वयनका सम्पूणर् तयारी हुन्थे,’ पूर्वमन्त्रीसमेत रहेका कांग्रेस सांसद प्रकाश देउवा भन्छन्, ‘अब त मंसिरतिर बल्ल बजेट कार्यान्वयनको प्रक्रिया सुरु हुने देखिन्छ ।’

बजेट शून्यताकै कारण कृषि क्षेत्र प्रभावित भइसकेको छ । विगतका वर्षमा कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान दिएपछि बाजुराको स्याउ धनगढीलगायत सहर पुग्थ्यो । तर यसपालि बाजुराका किसानले लटरम्म फलाएका स्याउ ढुवानी हुन सकेको छैन । ‘विगतमा प्रदेश सरकारअन्तर्गतको कृषि ज्ञान केन्द्रले ढुवानीमा सहयोग गर्थ्यो । तर यसपालि बजेट नभएकाले त्यो सुविधा भएन । त्यसैले यहाँका किसानले स्याउ पठाउन सकेका छन्,’ बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाले भने ।

कान्तिपुरबाट

प्रकाशित मिति: सोमबार, भदौ ३१, २०८१  ०८:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update