Hamro Patra
एल.एल. मेडिकलमा सुई लगाए लगत्तै महिलाको मृत्युः सञ्चालक प्रहरी नियन्त्रणमा

टीकापुर, भदौ ३०
कैलालीको टीकापुरस्थित एल.एन मेडिकलमा सुई लगाएको केहीबेरमै एक महिलाको मृत्यु भएको छ । शनिवार साँझ ६ बजेको समयमा उपचारका लागि आएकी जोशीपुर गाउँपालिका वडा नं. १ की ६८ वर्षीया सञ्चुरिया चौधरीको सुई लगाए लगत्तै मृत्यु भएको हो । 

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्व अधिकारीले दिएको जानकारी अनुसार टाइफाइडको उपचारका लागि आएकी सञ्चुरियालाई मेडिकल सञ्चालक हरि चौधरीले सुई लगाए लगत्तै मृत्यु भएको थियो । 

Khadga Memorial And Janajagriti

मृत्यु भएसँगै सञ्चालक चौधरीलाई इलाका प्रहरी कार्यालय टीकापुरले नियन्त्रणमा लिएको डिएसपी अधिकारीले बताए । ‘हामीले हिजो साँझ नै सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरेका छौं’ डिएसपी अधिकारीले भने ‘उपचारका लागि आफै आएकी सञ्चुरियाको सुई लगाए लगत्तै ज्यान गएको थियो ।’

मृतक सञ्चुरियाकी छोरी रिमा चौधरीले जोशीपुरबाट दिउँसो एक्लै टीकापुरस्थित छोरीको घर पुगेकी उनलाई मेडिकलमा उपचार ल्याएकी थिइन् । ‘ज्वरो नाप्नु भयो, प्रेसर चेक गर्नुभयो, पर्चामा प्रेसर समेत लेखेर ठीकै छ भन्नु भएको हो’ छोरी रिमाले भनिन् ‘टाइफाइडको सुई लगाउनु पर्छ भनेर सुई लगाउनु भयो, एकैछिनमा त आमाको ज्यान गयो ।’

रिमाका अनुसार सुई लगाएर ज्यान गएपछि हामी आक्रोशित भयौं सञ्चालक चौधरी आफै इलाका प्रहरी कार्यालय पुगेका हुन् । 

‘जोशीपुरबाट हिँडेर आएकी आमाको एक मिनेटमै ज्यान गएको छ’ रिमाले भनिन् ‘मेडिकल सञ्चालकको लापरवाहीले अनाहकमा ज्यान गुमाउनु पर्यो, सञ्चालकलाई कारवाही हुनैपर्छ ।’

सञ्चुरियाको ज्यान गएपछि स्थानीयहरु आक्रोशित भएका छन् । यसअघि समेत उक्त मेडिकलमा दुई जना बिरामीको उपचारका क्रममा सुई लगाए लगत्तै ज्यान गएको थियो । मृतकका परिवारले आर्थिक लेनदेनमा सहमति गरेर सञ्चालकलाई उन्मुक्ति दिँदै आएका थिए ।

प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update