Hamro Patra
सशस्त्र प्रहरीको बिओपी मोहनाले बगायोः ४ शय ३८ परिवार प्रभावित

टीकापुर, भदौ २९
नेपाल-भारत सीमावर्ती क्षेत्रको सुरक्षार्थ तैनाथ गरिएका कैलालीका सशस्त्र प्रहरी बलका बिओपी (बोर्डर आउट पोष्ट) हरु बाढीको चपेटामा परेका छन् । मोहना नदीको किनारमै स्थापना गरिएका बिओपीमध्ये ७ वटा बाढीको चपेटामा परेका छन् भने एउटा बिओपीको भवन पूणर्रुपमा मोहना नदीले बगाएको छ । 

शुक्रवार राति आएको वर्षासँगैको बाढीले धनगढी उपमहानगरपालिका वडा नं. १९ स्थित लल्लीपुरमा रहेको बिओपीका तीनवटा भवन बगाएको हो । लल्लीपुरको बिओपीमा २ कोठे एउटा भवन, एक सभाहल र एक/एक कोठाका दुई ओटा भवन रहेका थिए । बाढीले ती सबै संरचनामा क्षति पुर्याएको सशस्त्र प्रहरी बल नेपाल ३४ नम्बर हेडक्वाटर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) दलबहादुर पाण्डेले जानकारी दिए । 

‘प्रिफ्याबबाट बनाइएका तीन भवनहरु मोहना नदीको बाढीले क्षति पुर्याएर बगेका छन्’ एसपी पाण्डेले भने ‘टीकापुर नगरपालिकाको क्षेत्रमा रहेका तीनवटा, भजनी नगरपालिका क्षेत्रमा रहेका तीनवटा र कैलारी गाउँपालिकामा रहेको एउटा बिओपीमा समेत बाढी पसेर क्षति पुर्याएको छ ।’

Khadga Memorial And Janajagriti

एसपी पाण्डेका अनुसार बिओपीको संरचनामा क्षति हुँदा लल्लीपुरमा रहेको बिओपीलाई रबर बोटको सहायताले स्थानीय सामुदायिक भवनमा राखिएको हो । 

लल्लीपुरमा रहेको बिओपीको भवन (भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्)

कैलालीको सीमा क्षेत्रमा १४ ओटा बिओपी, ४ वटा प्रस्तावित गुल्म र एउटा एउटा फरवार्ड बेस छ । बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २५ जनाको टोली हुन्छ भने गुल्ममा डिएसपीको नेतृत्वमा ५० जनाको टोली खटिएको हुन्छ । 

सीमा क्षेत्रमा हुने चोरी निकासी तथा गैरकानुनी कार्यको नियन्त्रण, सिमानामा रहेका सीमा स्तम्भको सुरक्षा, दशगजा क्षेत्रको सुरक्षा गर्न भन्दै सरकारले सशस्त्र प्रहरीलाई सीमा क्षेत्रमा सुरक्षार्थ खटाएको हो । 

कैलालीको दक्षिणी नदी तटीय क्षेत्रमा वर्षेनी हुने डुबान र बाढीको समस्याबाट स्थानीयबासीलाई उद्दार गर्दै आइरहेका सशस्त्र प्रहरी नै बाढीको चपेटामा परेका हुन् । 

कैलालीका विभिन्न नदी र मोहनामा आएको बाढीका कारण सशस्त्र प्रहरीको पोष्टहरु डुबानमा परेका हुन् । बाढीको समयमा आफू जोगिन, हतियार जोगाउन र स्थानीयलाई उद्दार गर्नका लागि सशस्त्र प्रहरीसँग पर्याप्त उद्दार सामग्री समेत छ्रैनन् । 

वर्षेनी डुबानमा पर्दै आएका बिओपीहरुलाई अग्लो सुरक्षित स्थानमा लैजान र पर्याप्त मात्रामा विपद् उद्दार सामग्रीहरुको व्यवस्था गर्न सशस्त्र प्रहरीले माग गर्दै आइरहेका छन् । 

यता, तीन दिनदेखिको अविरल वर्षाका कारण कैलालीका ४ शय ३८ परिवार प्रभावित भएका छन् । जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले दिएको जानकारी अनुसार बाढीबाट कैलालीका विभिन्न ठाउँमा ४ शय ३८ परिवार प्रभावित भएका छन् । जोशीले जानकी गाउँपालिकाका १५, कैलारी गाउँपालिकाका ५३, जोशीपुर गाउँपालिकाका ६० र भजनी नगरपालिकाका ३ शय १० परिवार बाढीबाट प्रभावित भएको बताए । 

मोहना, कान्द्रा, पथरैया नदीमा आएको बाढीका कारण डुबानमा परेर घर भत्किएका १ शय ६२ परिवारलाई सुरक्षित स्थानमा राखिएको छ । सूचना अधिकारी जोशीका अनुसार जानकी गाउँपालिकाका ३२, टीकापुर नगरपालिकाका १ शय १०, जोशीपुर  गाउँपालिकाका २, भजनी नगरपालिकाका १३, कैलारी गाउँपालिकाका २ र गोदावरी नगरपालिकाका ३ परिवारलाई सुरक्षित स्थानमा राखिएको छ । 

आज भने बिहानैदेखि मौसम सफा छ । नदीमा पानीको सतह घटेसँगै बाढी समेत कम हुँदै गएको छ ।

प्रकाशित मिति: शनिबार, भदौ २९, २०८१  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update