Hamro Patra
खक्रौलामा क्वारेन्टाइनका लागि पहल गरौंः लुम्बिनी प्रदेश सभा सदस्य तिमिल्सेना

टीकापुर, भदौ २८
लुम्बिनी प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक जन्मजय तिमिल्सेनाले खक्रौलास्थित भन्सार कार्यालयमा क्वारेन्टाइन स्थापनाका लागि पहल गर्ने बताएका छन् । 

टीकापुर उद्योग वाणिज्य संघको २५औं साधारण सभालाई विशिष्ठ अतिथिको आशनबाट सम्बोधन गर्दै तिमिल्सेनाले कैलालीको पूर्वी र बर्दियाको पश्चिमी क्षेत्रका लागि खक्रौलास्थित भन्सारमा क्वारेन्टाइन आवश्यक रहेको बताए । 

‘कैलालीको पूर्वी क्षेत्र मात्रै नभएर बर्दियाको पश्चिमी क्षेत्रका लागि समेत क्वारेन्टाइन आवश्यक रहेको छ’ प्रदेश सभा सदस्य तिमिल्सेनाले भने ‘संघीय कृषि मन्त्रालयमा म मेरोतर्फबाट सक्दो पहल गर्नेछु, यस क्षेत्रको आर्थिक विकासका लागि क्वारेन्टाइन महत्वपूर्ण विषय हो ।’

Khadga Memorial And Janajagriti

टीकापुर क्षेत्रको विकासका लागि सबै समुदाय, वर्ग क्षेत्र एक हुनुपर्नेमा जोड दिँदै उनले सुदूरपश्चिम र लुम्बिनीका पर्यटकीय गन्तव्यको प्रचार प्रसार हुन नसकेको बताए । ‘भारतको उत्तर प्रदेशलाई लक्षित गरेर हामीले हाम्रा खप्तड, बडिमालिका, रारा, लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्ज, चिसापानी आदिको प्रचार गर्न जरुरी छ’ तिमिल्सेनाले भने ‘कैलालीको पूर्वी क्षेत्र र बर्दियाको पश्चिमी क्षेत्रमा कृषिलाई व्यावसायीकरण गरेर नयाँ उद्यमीहरु भित्र्याउन आवश्यक छ, यसका लागि हामी सबै एकजुट हुनुपर्दछ ।’

टीकापुर उद्योग वाणिज्य संघको संस्थापन कार्यसमितिका सदस्य समेत रहेका तिमिल्सेनाले कर्णाली नदीको सनकट्टी घाटमा बन्ने पक्की पुलले दुई जिल्लाका समुदायलाई आपसमा जोड्ने बताए । 

‘सनकट्टीमा निर्माण भइरहेको पुलले हामी दुई जिल्लाका समुदायको सम्बन्धलाई जोड्नेछ’ उनले भने ‘हाम्रो लक्ष्य र दृष्टिकोण दृढ भएका खण्डमा दुई जिल्लाको प्रगति र उन्नति कसैले रोक्न सक्दैन ।’ सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका लागि टीकापुर क्षेत्रमा सुख्खा बन्दरगाह बनाउनका लागि समेत सबैले पहल गर्नुपर्नेमा तिमिल्सेनाले जोड दिए । 

कार्यक्रममा बोल्दै उनले संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिनुपर्ने अधिकार प्रत्यायोजन गर्न नसक्दा विकास निर्माणले गति लिन नसकेको बताए । ‘संघले प्रहरी ऐन प्रदेशलाई दिएको छैन, कृषिको अधिकार स्थानीय तहलाई दिएको छैन’ तिमिल्सेनाले भने ‘संविधानले दिएको अधिकार विकेन्द्रिकरण गर्नेतर्फ संघीय सरकारले ध्यान दिनु पर्दछ ।’

कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघका पूर्व केन्द्रिय सदस्य हेमराज गिरीले व्यापारिक नेतृत्व दलगत चिन्तनबाट मुक्त हुनुपर्नेमा जोड दिए । ‘हामी सबैका राजनीतिक आस्था छन्, होलान् त्यो फरक कुरा हो’ गिरीले भने ‘तर हामी व्यापारी भइसकेपछि पहिलो दायित्व व्यापारिक हक अधिकार नै हो, त्यसपछि राजनीतिक आस्था होला तर कहींकतै संघको नेतृत्व दलगत चिन्तनमा हुँदा व्यावसायिक विकास हुन सकेको छैन ।’

टीकापुर उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजकुमार हमालले वर्तमान कार्यसमितिलाई समाजले देखिने गरी कुनै काम गर्न सुझाब दिए । ‘हामी सबै दलका नेताहरुलाई बोलाएर छलफल गरौं, संयुक्त डेलिगेशन गएर क्वारेन्टाइन स्थापनाका लागि संघले पहल गर्नुपर्छ’ पूर्वअध्यक्ष हमालले भने ‘एक कार्यकालमा समाजले देख्ने गरी कुनै एउटा राम्रो काम गर्नुपर्दछ ।’

कार्यक्रममा संघका सल्लाहकार संयोजक सुरेन्द्रकिशोर गिरी लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

तिमिल्सेना र विश्वकर्मा सम्मानित

यसैबीच संघको २५औं वार्षिक साधारण सभामा लुम्बिनी प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेस संसदीय दलका सचेतक जन्मजय तिमिल्सेनालाई सम्मान गरिएको छ । २०४९ सालदेखि टीकापुरमा हार्डवेयर तथा किरानाको व्यापार व्यवसाय गरेका तिमिल्सेनाले संघको संस्थापक कार्यसमितिका सदस्य हुन् । 

त्यस्तै साधारणमा सभामा खड्ग स्मृति सम्मान २०८१ बाट टीकापुरस्थित जयबाबा विश्वकर्मा कृषि औजार उद्योगका सञ्चालक कृष्णबहादुर विश्वकर्मा सम्मानित भएका छन् ।

उनलाई कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेश सरकारका वन, उद्योग तथा पर्यटन मन्त्री लक्ष्मणकिशोर चौधरीले सम्मान गरेका हुन् । संघले हरेक वर्ष उत्कृष्ठ व्यापार व्यवसाय गर्दै आएका एकजनालाई खड्ग स्मृति सम्मान प्रदान गर्दै आएको छ । 

सङ्घ स्थापनाको २५ वर्ष पुगेको अवसरमा स्थापनाकालदेखि कार्यालय प्रमुखका रूपमा रहेर काम गरिरहेका संघका कार्यालय प्रमुख तर्कराज रिमाललाई समेत सम्मान गरिएको छ।

जेहेन्दार छात्रवृत्ति प्रदान

संघको साधारण सभामा गत वर्षझैं यस वर्ष समेत विद्यालयले गरेको सिफारिसका आधारमा टीकापुर नगरपालिका वडा नं. ७ स्थित कर्णाली माविका छात्र सुदीप सुनार, बैदीस्थित जनता राष्ट्रिय मावि सुनाहाफाँटाका छात्रा आयशा चौधरीलाई नगद पाँच हजार ५ का दरले पुरस्कार प्रदान गरेको छ । 

त्यस्तै वडा नं. ८ स्थित कर्णाली राष्ट्रिय आधारभूत विद्यालयका छात्रा कविता आउजी र त्रिभुवन मावि बटनपुरका छात्रा रोशनी बुढालाई पुरस्कार तथा प्रमाण पत्र वितरण प्रदान गरिएको छ । 

कार्यक्रमका सहभागीलाई संघका उपाध्यक्ष कृष्णप्रसाद उपाध्याय बजगाईले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन महासचिव नवराज रिमालले गरेका थिए ।   

साधारण सभाको बन्दसत्र भने गणपूरक संख्या नपुगेपछि भदौ ३१ गते बस्ने गरी स्थगित गरिएको छ । 

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १८:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update