Hamro Patra
टीकापुरलाई पर्यटन हब बनाउँछु–सुमार्गी

टीकापुर फागुन १

मुक्तीश्री प्रालिका अध्यक्ष अजयराज सुमार्गीले टीकापुरलाई पर्यटन हबका रुपमा विकास गर्न तयार रहेको बताएका छन । टीकापुर उद्योग वाणिज्य संघले आज आयोजना गरेको स्वागत तथा व्यवशायीक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकार्यका लागि आग्रह गरेका छन । उनले टीकापुर पार्कको ३ सय ७४ विगाह जमिनलाई ५० वर्षका लागि लिजमा दिन नगरपालिकालाई आग्रह गरे ।

Khadga Memorial And Janajagriti

   उनले टीकापुर पार्कलाई हब बनाउँदै रारा, खप्तड र मानसरोबरसम्म पर्यटकीय गतिविधि सञ्चालन गर्न सकिने बताए । उनले पहिलो चरणमा टीकापुर पार्कमा २ अर्ब लगानी गरिनुका साथै आफूसँग २ सय अर्ब लगानीको योजना रहेको जानकारी दिए । उनले आफूसँग सुदूरपश्चिमको आर्थिक उन्नतिको महत्वपूर्ण योजना रहेको सुनाए । ‘मसँग ठुलो योजना छ । आउनुस् सबै मिलेर कार्यान्वयन गरौं’ उनले भने–‘म तपाईहरुका लागि मार्गदर्शक बन्न आएको हुँ ।’ उनले टीकापुर हबका बारेमा यसअघि नै अध्ययन गरेर गुरुयोजना तयारी अवस्थामा रहेको जानकारी दिए । उनका अनुसार टीकापुर हबको गुरुयोजना तयार गर्न २२ करोड रुपैयाँ खर्च भैसकेको छ ।

   उनले मुलुक परिवर्तनको सँघारमा रहेको बताउँदै विकास निर्माणका काममा राजनीति नगर्न आग्रह गरे । उनले विगतमा जेजस्तो भएपनि यतिबेला विकास निर्माणका काम गर्न निकै सहज वातावरण भैरहेको बताउँदै यही मौका छोपेर अघि बढ्नुपर्ने बताए । उनले टीकापुर मानसरोवर जाने भारतीय पर्यटकका लागि उपयुक्त मार्ग भएको बताउँदै टीकापुरलाई मानसरोवर प्रवेशद्वारका रुपमा चिनाउनुपर्नेमा जोड दिए । ‘कुनै न कुनै रुपमा मानसरोवरसँग जोड्नै पर्छ’ उनले भने–‘यो उपयुक्त मार्ग हो ।’ उनले सत्तीस्थित पदम प्रकाशेश्वर शिवालयको दर्शन गर्दै मन्दिरको विकासमा लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले अति नै पौराणिक महत्व बोकेको शिवालयलाई धार्मिक पर्यटन भित्र्याउने माध्यम बनाउन सकिने बताए । सो कार्यक्रममा टीकापुर नगरपालिकाका मेयर तपेन्द्रबहादुर रावलले सहकार्य गर्न तयार रहेको बताए ।

    उनले ठूला लगानीकर्तालाई भित्र्याउने आफूहरुको योजना रहेको बताउँदै सुगार्मीलाई लगानीका लागि स्वागत गरिने बताए । टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीको अध्यक्षतमा भएको कार्यक्रममा पूर्वअध्यक्षद्वय राजकुमार हमाल र नवराज रावल लगायतले बोलेका थिए ।

प्रकाशित मिति: बिहीबार, फागुन १, २०७६  १९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update