Hamro Patra
टीकापुरलाई चलायमान बनाउन सदरमुकाम बनाउनुपर्छ: मन्त्री चौधरी

टीकापुर, भदौ २८

टीकापुर उद्योग वाणिज्य संघको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्ती समारोहको उद्घाटन गरिएको छ ।

सुदूरपश्चिम प्रदेशका वन, उद्योग तथा पर्यटन मन्त्री लक्ष्मणकिशोर चौधरीले दीप प्रज्वलन गरेर समारोहको उद्घाटन गरेका हुन् ।

Khadga Memorial And Janajagriti

उद्घाटन समारोहलाई प्रमुख अतिथिको आशनबाट सम्बोधन गर्दै मन्त्री चौधरीले टीकापुरलाई जिल्ला सदरमुकाम नबनाएसम्म आर्थिक गतिविधि चलायमान हुन नसक्ने बताएका छन् ।

‘प्रदेश राजधानी समेत धनगढी, जिल्ला सदरमुकाम पनि धनगढी मै हुँदा यहाँको बजारमा आर्थिक गतिविधि बढ्न सकेको छैन, यसका लागि टीकापुरलाई कम्तीमा जिल्ला सदरमुकाम बनाइनु पर्दछ’ मन्त्री चौधरीले भने ‘यसका लागि संघीय र स्थानीय सरकारले ध्यान दिन जरुरी छ । वितगका दिनमा भएका राजनीतिक गतिविधिले पनि यहाँ नकारात्मक असर परेको छ, त्यसलाई सुधार्न हामी सबै एकजुट हुन आवश्यक छ ।’

मन्त्री चौधरीले टीकापुर क्षेत्रको आर्थिक गतिविधि बढाउनका लागि यहाँ रहेको औद्योगिक क्षेत्रमा उद्योगहरु स्थापना हुनुपर्नेमा जोड दिए । मन्त्री चौधरीलाई संघले राखेको औद्योगिक क्षेत्र स्थापनाको माग सम्बोधन गर्न आफू तत्पर रहेको उनले बताए ।

‘यहाँ वाणिज्य क्षेत्रको व्यापार मात्रै भइरहेको छ, यसले त्यत्ति धेरै आर्थिक गतिविधि हुन सकेको छैन’ मन्त्री चौधरीले भने ‘त्यसका लागि संघले औद्योगिक उत्पादनमा समेत जोड दिन आवश्यक छ ।’

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह समेत यही क्षेत्रबाट प्रतिनिधित्व गर्ने स्मरण गर्दै मन्त्री चौधरीले यस क्षेत्रको समग्र विकासका लागि चिसापानीदेखि सत्ती घाट र मोहना नदीसम्मको क्षेत्रमा करिडोर निर्माणको योजना रहेको बताए ।

‘यहाँको गतिविधि पहाडी जिल्लासँग जोड्नका लागि समेत कर्णाली करिडोर हाम्रा लागि आवश्यक रहेको छ’ उनले भने ‘हामीले यसपटक टीकापुर क्षेत्रलाई प्राथिमकतामा राखेर विभिन्न योजनाहरु बजेटमा समावेश गरेका छौं, यसले राहत हुने विश्वास लिएको छु ।’

टीकापुर उद्योग वाणिज्य संघका अध्यक्ष चक्रपाणी सापकोटाको अध्यक्षतामा टीकापुरस्थित सिद्धार्थ होटलमा समारोह सञ्चालन भइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  १५:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update