Hamro Patra
कैलालीमा भारी वर्षाः नदीमा पानीको सतह बढ्दै

टीकापुर, भदौ २८
बिहीवार विहानैदेखि कैलालीका विभिन्न स्थानमा भारी वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कैलालीको अत्तरिया, बलिया, बचैलामा भारी वर्षा भएको हो । 

विभागले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा कैलालीको लम्कीचुहा नगरपालिका वडा नं. ८ को बचैलामा १५८, अत्तरियामा १५५.६ र लम्कीचुहाकै बलियामा १४३.८ मिलिलिटर वर्षा भएको छ । 

Khadga Memorial And Janajagriti

बचैलामा सर्वाधिक वर्षा भएको हो । हावापानी मापन केन्द्र टीकापुरमा पछिल्लो २४ घण्टामा ११४ मिललिटर वर्षा भएको छ । 

लगातारको वर्षाका कारण कैलालीको दक्षिणी नदी तटीय क्षेत्रका बस्तीहरु जलमग्न भएका छन् । भजनी नगरपालिका, जानकी गाउँपालिका र कैलारी गाउँपालिकाका बस्तीहरु जलमग्न भएका हुन् । 

मौसम विज्ञान विभागका अनुसार कैलालीको खुटिया नदीले जल सतह पार गरेको छ । नदीको खुटिया खोला मुडिभारमा जल सतह ४.५ मिटर पुगेको छ । त्यहाँ ४ मिटरमाथि खतरा तह मानिन्छ । 

यता, कर्णाली नदीको चिसापानीमा समेत जल सतह बढ्दै गइरहेको मौसम सूचना केन्द्र चिसापानीकी गेजरिडर पार्वती गुरुङ्गले जानकारी दिएका छन् । हाल कर्णाली नदीको चिसापानीमा पानीको सतह ९.४७ मिटर पुगेको छ ।

कर्णालीमा १० मिटर पुगे चेतावनी तह र १०.८ मिटर पुगे खतरा तह मानिन्छ । पहाडी जिल्लामा समेत भारी वर्षा भएको र कर्णाली नदीका सहायक नदीहरु सेती, बुढीगंगामा पानीको सतह बढ्दै गएकाले कर्णालीमा पानीको सतह बढ्ने अनुमान गरिएको छ । 

लगातारको वर्षाका कारण जिल्ला प्रशासन कार्यालय कैलालीले सर्तकता अपनाउन आग्रह गरेको छ ।  

प्रकाशित मिति: शुक्रबार, भदौ २८, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update