Hamro Patra
चिकित्सक आन्दोलित, विरामीलाई सास्ती

प्रकाश कुमार
टीकापुर, २५ चैत्र
समायोजनमा आपत्ति जनाउँदै सुदूरपश्चिम प्रदेशका चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । आइतबारदेखि देशभरका अस्पतालका सबै सेवा ठप्प गर्दै चिकित्सकहरु आन्दोलित भएका हुन ।


सरकारले गरेको सहमति विपरीत कर्मचारी समायोजनको सूचि प्रकाशित गरेको भन्दै नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेशका चिकित्सक सहित देशभरिका चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

Khadga Memorial And Janajagriti


चिकित्सकको आन्दोलनले धेरै बिरामीहरु उपचार नै नगरी घर फर्कन बाध्य भएका छन् । कैलालीको टीकापुर अस्पताल, धनगढीस्थित सेती अञ्चल अस्पताल लगायतका स्वास्थ्य संस्थामा उपचार गर्नको लागि आएका बिरामीहरुले डाक्टर नहुदाँ फिर्ता हुनु परेको गुनासो गरेका छन् । डाक्टरहरुले आफ्ना माग पुरा गर्नको लागि बिरामीहरुको स्वास्थ्य माथि खेलवाड गर्न नहुने सेवाग्राही विकास चौधरीले बताए ।


डाक्टरको बन्द भन्ने खबर थाहा नपाएका टीकापुर ६ पर्सेनीका रामलाल चौधरीले अस्पताल पुगेर पनि विरामी फिर्ता हुनु परेको बताए ।


कर्मचारी समायोजन गर्दा देशभर कार्यरत डाक्टरहरुलाई संघ मातहत राख्नु पर्ने चिकित्सकहरुको माग छ । चिकित्सक संघले डाक्टरको दरबन्दी संघ अन्तर्गत राख्दै आवश्यकता अनुसार प्रदेश र स्थानीय तहमा खटाउन लगायतका माग राख्दै आएको हो ।


आफुहरुका मागहरु पूरा नगरे सबै डाक्टरले सामूहिक राजीनामा दिने चिकित्सक संघका प्रदेश अध्यक्ष डाक्टर प्रमोद जोशीले बताए ।

प्रकाशित मिति: सोमबार, चैत २५, २०७५  ०६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update