Hamro Patra
दुनियाँकै फरक पहिचान बोकेको शिवलिङ्ग
पद्म प्रकाशेश्वर महादेव मन्दिर

टीकापुर, २० चैत 

टीकापुर नगरपालिका–७ सत्तीस्थित पद्म प्रकाशेश्वर महादेव मन्दिरको निर्माण कहिले भएको हो भन्ने बारेमा यकिन जानकारी छैन । त्रेता युगमा परशुरामले हरेक बिहान यही मन्दिरमा रहेको शिवलिङ्गमा जल चढाउने गर्थे भन्ने जनविश्वास छ । मन्दिरको पूर्व दिशामा सूर्य नारायणको मूर्ति भएको सानो मन्दिर छ । यो मन्दिरको जिर्णोद्वार भएको पनि सय वर्ष भन्दा बढी भैसक्यो । वि.सं. १९६५ मा मन्दिरको जिर्णोद्वार भएको पाईएको छ ।

Khadga Memorial And Janajagriti

रानी पद्मकुमारीले मन्दिरको जिर्णोद्वार गर्न लगाएकी थिईन । उनी धुलिकोटे राजा प्रकाश शाहकी श्रीमती हुन् । कैलालीको साविक सुगरखाल गाविसस्थित राजकाँडामा धुलिकोटे राजाको दरवार थियो । जिर्णोद्वार पछि मन्दिरको नामसँगै रानी पद्मकुमारीले आफ्नो र श्रीमानको नाम जोड्न लगाएको बताईएको छ । यो संसारका अन्य शिवलिङ्ग भन्दा भिन्न छ । संसारमा जति पनि शिवलिङ्ग छन् ति सबै उत्तर दिशातर्फ फर्किएका छन । तर यो मन्दिरको शिवलिङ्ग पूर्व दिशातर्फ फर्किएको छ । शिवलिङ्गमा चढाएको जल पूर्व दिशामा रहेको भगवान रामको मुर्तीमा खस्छ ।

यो शिवलिङ्ग किन पूर्व दिशातर्फ फर्काईएको हो भन्ने बारेमा कुनै कुरा जानकारीमा नआएको मन्दिर संरक्षण समितिका अध्यक्ष विदूर कायस्थले बताए । यो सबैभन्दा ठूलो शिवलिङ्ग समेत दावी गरिन्छ । यो मन्दिरको छुट्टै धार्मिक महत्व छ । यसको सम्बन्ध भारतको नैमिषारण्यदेखी मानसरोबरसँग जोडिएको छ । परापूर्वकालमा मानसरोवरको यात्रामा जाने भारतीय तिर्थयात्रीले जाँदा र फर्किदा यस मन्दिरको दर्शन अनिवार्य ठान्दथे । धेरै पछि सम्म पनि फाटफुट रुपमा भारतीय तिर्थयात्री यस मन्दिरमा दर्शन गर्न आउने गरेको पाईन्छ । बढ्दो विकास क्रमसँगै भारतीय तिर्थयात्रीहरु अन्यत्रको बाटो हुँदै मानसरोवरको यात्रामा जान थालेपछि यो मन्दिर ओझेलमा परेको अध्यक्ष कायस्थको भनाई छ । उनका अनुसार भारतीय तिर्थयात्रीलाई यस बारेमा जानकारी दिनसके धार्मिक पर्यटनको विकास हुने थियो ।

मन्दिरमा विशेष चाड पर्वको समयमा आफै घण्टी बज्ने, आरती बल्ने जस्ता कार्य हुने गरेको स्थानीय बताउँछन । अध्यक्ष कायस्थले शिवरात्रीको मध्यरात आरती बलेको देखिएको बताए । उनले यस मन्दिरमा दर्शन गर्नाले सन्तान प्राप्ती हुने विश्वास रहेको बताए । उनका अनुसार धेरै व्यक्ति सन्तान प्राप्त गरेपछि पुनः दर्शन गर्न आउने गरेका छन । स्थानीयले मन्दिरको प्रचार प्रसारका लागि पहल गरिरहेका छन । स्थानीयको पहलले मात्रै मन्दिरको वास्तविकता सबै सामु आउन सक्ने देखिदैन ।

प्रकाशित मिति: बुधबार, चैत २०, २०७५  १४:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update