Hamro Patra
कारवाही गरेर देखाउन भीम रावलको चुनौती 

अछाम, भदौ २५
नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावलले आफूलाई कारवाही गरेर देखाउन चुनौती दिएका छन ।

गृहजिल्ला अछाम पुगेका नेता रावलले आज साँफेबगरमा प्रेस चौतारी नेपाल अछामले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आफूलाई कारबाही गरेर देखाउन पार्टी नेतृत्वलाई चुनौती दिएका हुन ।

CMA Staff

एमालेबाट कारबाहीको तयारी भइरहेको भन्ने सुनिन्छ नि भन्ने पत्रकारको प्रश्नमा रावलले भने, ‘पार्टीको सिध्दान्तलाई जोगाउनुपर्छ, विधि विधानअनुसार पार्टी चल्नुपर्छ भन्ने मत राखेकै कारण आफूलाई कारबाही गरिन्छ भने त्यो गरेर देखाउन ठाडो चुनौती दिन्छु । पार्टीले चुनौतीको सामना गरे त्यसपछिको कदम त्यसपछि चालौँला ।’

देश, जनता र पार्टीले लिएको नीतिको पक्षमा आफू दृढतापूर्वक खडा भएको केही मानिसहरुलाई बिझाइरहेको नेता रावलको टिप्पणी छ । उनले त्यस्ता पात्र र प्रवृतिलाई चुनौती दिन आफू सक्षम रहेको दाबी गरे ।

उनले देश र जनताको पक्षमा लाग्दा आउन सक्ने व्यवधानका विषयमा आफू जानकार रहेको र आफ्नो अडानमा अविचलित रहेको बताए । त्यसै अनुसार चल्न एमालेका पार्टी नेता तथा कार्यकर्तालाई उनले निर्देशन समेत दिए ।

पार्टी विचारशून्य अवस्थामा पुगेको भन्दै नेता रावलले ‘आफूले पार्टीको विधि,विधान र सिध्दान्तको पक्षमा बोल्दै आएकोतर्फ एमाले नेता कार्यकर्ताको ध्यानाकर्षण समेत गराए ।

रावलले नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने हल्लामा सत्यता नरहेको बताउँदै कार्यकर्ताको जनचाहाना र सुझाव अनुसार अघि बढ्ने उल्लेख गरे ।
 

प्रकाशित मिति: मंगलबार, भदौ २५, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update