Hamro Patra
घण्टाघर सञ्चालनका लागि पाँचौ पटक सूचना जारी, कसैको टेण्डर पर्दैन

टीकापुर, भदौ २४
टीकापुर नगरपालिकाले घण्टाघर सञ्चालन तथा व्यवस्थापनका लागि आज पाँचौ पटक सूचना जारी गरेको छ । नगरपालिकाले एक वर्ष यता यसअघि चार पटक सूचना जारी गरेपनि कसैको टेण्डर परेको छैन । 

उसले पछिल्लो पटक साउन १७ गते १५ दिने सूचना जारी गरेको थियो । त्यतिञ्जेल पनि कसैको टेण्डर नपरेको नगरपालिकाको राजश्व उपशाखा प्रमुख नन्द केसीले जानकारी दिए । 

उनले कसैले पनि टेण्डर दाखिला नगरेका कारण पटकपटक सूचना जारी गर्नु परेको बताए । ‘एउटा टेण्डर बिक्री भएको थियो’ उनले भने–‘तोकिएको समयभित्र दाखिला भएन ।’

Khadga Memorial And Janajagriti

नगरपालिकाले आठ दिनको म्याद राखेर पाँचौ पटक सूचना जारी गरेको छ । केसीका अनुसार यो अवधिमा समेत कसैको टेण्डर नपरे थप ७ दिनको सूचना जारी गरेर बढाबढ प्रकृयामा जानेछ । 

‘कानूनी आधारमा तीन वटा प्रकृया पूरा गर्नै पर्छ’ उनले भने–‘त्यतिञ्जेलसम्म पनि कसैको टेण्डर नपरे थप प्रकृया अघि बढ्छ ।’

केसीका अनुसार तीन वटा प्रकृया पूरा गर्दा पनि कसैको टेण्डर नपरे पुर्नविचारका लागि राजश्व परामर्श समितिमा पठाईनेछ । समितिले टेण्डर नपर्नुको कारणका बारेमा अध्ययन गरेर निकासका लागि कार्यपालिका बैठकमा निर्णयार्थ सिफारिस गर्नेछ । कार्यपालिका बैठकले दररेट परिवर्तन लगायतका विषयमा निर्णय गर्न सक्नेछ । नगरपालिकाले ३ वर्षको लागि ७ लाख २० हजार रुपैयाँ दररेट तोकेको छ 

टीकापुर नगरपालिका वडा नम्बर १ ब्लक नं. १९ स्थित घण्टाघर निर्माण भएको तीन वर्षसम्म पनि सञ्चालनमा आउन सकेको छैन । शहरी विकास तथा भवन निर्माण कार्यालय धनगढीले ३ करोड २६ लाख ४२ हजार रुपैयाँको लागतमा घण्टाघर निर्माण गरेको हो । घण्टाघर निर्माणका लागि रोयल प्रशंसा जेभीले २०७५ फागुन १९ गते सम्झौता गरेको थियो । 

सम्झौता अनुसार निर्माण कम्पनीले २०७७ भदौ २५ गते काम सम्पन्न गर्नुपर्ने भए पनि कोरोना संक्रमणका कारण २०७८ मा निर्माण सम्पन्न भएको थियो । शहरी विकास तथा भवन निर्माण कार्यालयले घण्टाघर निर्माण भएपछि २०७९ बैशाख १५ गते सञ्चालनका लागि टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको थियो ।

नगरपालिकाले हस्तान्तरण भएको एक वर्ष भन्दा बढी समयसम्म पनि घण्टाघर सञ्चालन बारेमा कुनै निर्णय गर्न सकेन । उसले २०८० साउन १५ गतेको कार्यपालिका बैठक मार्फत दररेट निर्धारण गरेको थियो । 

कार्यपालिका बैठकले दररेट निर्धारण गरेपछि मात्रै नगरपालिकाले पहिलो पटक २०८० साउन २४ गते सूचना प्रकाशित गरेको थियो । प्रमुख प्रशासकीय अधिकृत दमन चौधरीका अनुसार घण्टाघर सञ्चालनका लागि पहिलो पटक कसैको पनि निवेदन परेन । 

पहिलो पटक कसैको निवेदन नपरेपछि नगरपालिकाले २०८० भदौ ११ गते दोस्रो पटक सूचना प्रकाशित गरेको थियो । चौधरीका अनुसार दोस्रो पटक पनि भ्याटमा दर्ता नभएको एक मात्र निवेदन परेको थियो । सो निवेदनलाई अयोग्य भन्दै नगरपालिकाले २०८० कार्तिक १६ गते रद्ध गरिदिएको थियो ।

नगरपालिकाले कर्मचारीहरुलाई आन्तरिक सरुवा गर्यो । मंसिरमा राजश्व उपशाखा प्रमुखका रुपमा केसी आए । उनले लामो समय यस बारेमा कुनै प्रकृया नै अघि बढाएनन् । २०८१ जेठ ८ गते सूचना प्रकाशित गरे । त्यतिबेला पनि कसैको टेण्डर परेन । आर्थिक वर्षको अन्त्यतिर भन्दै प्रकृया रोकियो । 

नगरपालिकाले घण्टाघर लगायतका संरचनाबाट आन्तरिक आय कसरी बढाउन सकिन्छ भन्ने बारेमा अध्ययन गर्न केही महिना अघि टीकापुर बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख केशरबहादुर कुँवरको नेतृत्वमा ११ सदस्यीय समिति गठन गरेको थियो । सो समितिले काम गर्न सकेन । 

घण्टाघरलाई भ्यु टावरका रूपमा पनि प्रयोग गर्न सकिने गरी निर्माण गरिएको छ  । यहाँबाट टीकापुरको अवलोकन गर्न सकिने व्यवस्था मिलाइएको छ । २६ मिटर उचाइ रहेको यो घण्टाघरबाट टीकापुर बजार क्षेत्रको अवलोकन गर्ने सकिनेछ । पहिलो तलामा रेष्टुरेन्ट सञ्चालन गर्न सकिनेछ भने घण्टाघरमा प्रवेशद्वार, सुरक्षागार्ड चौकी, शौचालय, टिकट काउण्टर निर्माण गरिएको छ ।

घण्टाघर सञ्चालन नहुँदा त्यहाँ प्रयोग गरिएका चारवटा घडी समेत बन्द अवस्थामा छन् । निकै सानो आकारको घडी भएकाले समय हेर्न गाहे हुने बताउँदै स्थानीयहरुले उक्त घडी फेर्न माग गर्दै आएका छन । 

नगरपालिकाका लागि घण्टाघर टाउको दुखाईको विषय बनेको छ । लामो समयसम्म सञ्चालन नभएका कारण घण्टाघरको भौतिक संरचना जिर्ण बन्दै गएको छ । त्यहाँ रहेका सिसा फुटाईएका छन । संरक्षणको अभावमा भौतिक संरचना भत्किन थालेका छन । स्थानीयका अनुसार घण्टाघर सञ्चालन नहुँदै नगरपालिकाले मर्मतमा ठूलो रकम खर्चिनु पर्ने देखिन्छ । 

 

प्रकाशित मिति: सोमबार, भदौ २४, २०८१  ११:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update