Hamro Patra
विद्युत गृह मर्मत भएन, उत्पादन ठप्प

टीकापुर, भदौ २३
विगत दुई महिनादेखी उत्पादन ठप्प भएको रानी जमरा कुलरिया सिँचाई आयोजनाको विद्युत गृह अझै सञ्चालनमा आउन सकेको छैन । विद्युत गृहको ट्रान्सफर्मरमा आगो लागेपछि असार ३१ गतेबाट उत्पादन रोकिएको छ ।

निर्माण कम्पनी टुण्डीका प्रतिनिधि उदयराज पोखरेलले भारतबाट सामान मगाउनु परेकाले मर्मत कार्यमा ढिलाई भएको बताएका छन । उनले केही दिन भित्रै मर्मतको काम सकेर विद्युत पुनः उत्पादन सुरु हुने बताए । उनले आवश्यक पर्ने सामान काठमाण्डौं पुगिसकेकोले चाँडै विद्युत गृह सुचारु हुने जानकारी दिए । 

‘सामान काठमाण्डौं पुगिसकेको छ । भन्सार गरेर ल्याउन मात्रै बाँकी छ’ उनले भने–‘३/४ दिन भित्रै सुचारु हुन्छ ।’

Khadga Memorial And Janajagriti

राष्ट्रिय गौरवको आयोजनाले सिँचाईका साथै विद्युत उत्पादन समेत सुरु गरेको छ । आयोजनाले २०८० माघ १६ गतेबाट परिक्षणका रुपमा विद्युत उत्पादन सुरु गरेको हो । सोही मितिबाट उत्पादित विद्युत राष्ट्रिय प्रशारण लाईनमा जोडिएको आयोजनाका सूचना अधिकारी नविन पौडेलले जानकारी दिएका छन । 

विद्युत गृह निर्माणको समयावधि आगामी पुष मसान्त सम्म रहेको छ । निर्माण कम्पनीले त्यसपछिको थप एकवर्ष समेत विद्युत गृहमा आउने समस्याको जिम्मेवारी लिनुपर्ने सम्झौतामा उल्लेख रहेको सूचना अधिकारी पौडेलले जानकारी दिए । 

परिक्षणकै क्रममा रहेको विद्युत गृहमा आगजनी भएपछि त्यसको गुणस्तरीयतामा शंका गर्न थालिएको छ । निर्माण पक्षले गुणस्तरहिन सामाग्रीको प्रयोगले त्यस्तो समस्या आएको हो कि भन्ने बारेमा समेत अध्ययन भैरहेको छ । 

४ दशमलव ७ मेघावाट क्षमता रहेको विद्युत गृहले हाल ३ दशमलव १ मेघावाट विद्युत उत्पादन गरिरहेको थियो । तीनवटा युनिटबाट विद्युत उत्पादन गर्ने भनिए पनि दुईवटाबाट मात्रै विद्युत उत्पादन भैरहेको थियो । 

विभिन्न समयमा पाँच पटक म्याद थप गरेर निर्माण भएको विद्युत गृहमा आयोजनाले १ अर्ब लगानी गरेको छ । उसले विद्युत बेचेर वार्षिक ३० करोड रुपैयाँ आम्दानी गर्ने लक्ष्य बोकेको छ । 

विद्युत उत्पादन भएर राष्ट्रिय प्रशारणमा जोडिए पनि विद्युत गृह सञ्चालन तथा व्यवस्थापन कार्यविधि तयार भएको छैन । अध्ययनका नाममा कार्यविधि विगत लामो समयदेखी मन्त्रालयमा थन्काईएको छ । 

आयोजनाले पुष महिनामै कार्यविधि तयार पारेर स्विकृतीका लागि ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयमा बुझाएको थियो । कार्यविधिमा सो मन्त्रालयका सचिवको अध्यक्षतामा चार सदस्यीय समिति गठन गर्ने उल्लेख छ । सो समितिको सदस्यहरुमा महानिर्देशक, उपमहानिर्देशक र आयोजना प्रमुख रहने व्यवस्था गरिएको छ । 

सिँचाईसँगै विद्युत समेत उत्पादन थालेको यो आयोजना देशकै नमूना बहुउदेश्यीय परियोजना हो । आयोजनाले सिँचाई, विद्युत, नदी नियन्त्रण, सडक र कृषि उत्पादनलाई प्राथमिकतामा राखेको छ । 
 

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update