Hamro Patra
एक लाख ११ हजार पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने

टीकापुर, भदौ २३
कैलालीको टीकापुर नगरपालिका वडा नं. ६ मा हालसम्मकै नगरपालिकाको सर्वाधिक पुरस्कार राशीको फुटबल प्रतियोगिता हुने भएको छ । 

जगननथ्या ग्रुपको आयोजनामा आगामी असोज ७ गतेदेखि १४ गतेसम्म बेलुवा खेल मैदानमा एक लाख ११ हजार १ शय १ रुपैयाँ पुरस्कार राशीको खुला पुरुष फुटबल प्रतियोगिता हुने भएको हो ।  

Khadga Memorial And Janajagriti

प्रतियोगितामा जिल्ला तथा बाहिरी जिल्लाका जुनसुकै टिमले प्रतियोगितामा भाग लिन पाउनेछन् । आयोजकले प्रतियोगिता हालसम्मकै नगरपालिकाको सर्वाधिक पुरस्कार राशीका रहेको दाबी गरेको छ । 

शनिवार पत्रकार सम्मेलन गरेर आयोजक ग्रुपले फुटबल प्रतियोगिताबारे जानकारी दिएको हो । प्रतियोगितामा उपविजेता टिमलाई ५१ हजार १ शय १ रुपैयाँ पुरस्कार प्रदान गरिने ग्रुपका उपाध्यक्ष मदन महताराले जानकारी दिए । 

‘हामीले युवाहरूलाई खेलकुदमा आकर्षित गर्न र खेलकुदमा लागेका युवाहरूलाई उर्जा दिनको लागि प्रतियोगिता आयोजना गर्न लागेका हौं’ उनले भने ‘यसले समग्र टीकापुर क्षेत्रको मात्रै नभई कैलाली जिल्लाको खेलकुद विकासमा इट्टा थप्ने काम गर्ने विश्वासका साथ प्रतियोगिता आयोजना गरेका हौं ।’

प्रतियोगितामा उत्कृष्ट किपर, हाइ स्कोरर र वेस्ट प्लेयरले पनि नगद सहित पुरस्कार प्राप्त गर्नेछन् । टिम दर्ताको लागि ५ हजार ५ शय दर्ता शुल्क लाग्ने आयोजकले जनाएको छ । टिममा १६ जना खेलाडीको नाम टिम दर्ता गर्दा नै उपलब्ध गराउनुपर्ने भनिएको छ । 

विजया दशमीलाई लक्षित गरेर आयोजना गरिएको प्रतियोगितामा उल्लेख्य फुटबल टिमको सहभागिता हुने आयोजकले अपेक्षा गरेको छ । प्रतियोगितामा ८ देखि १० लाखसम्म लागत लाग्ने अनुमान आयोजकको छ ।

प्रतियोगिता आयोजना गर्दा बचत भएको रकमले वडा नं. ६ का बाढी पीडितलाई राहत सामाग्री हस्तान्तरण गर्ने योजना रहेको टीकापुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष तथा ग्रुपका अध्यक्ष सल्लाहकार दिपक चौधरीले जानकारी दिए । उनले टीकापुर क्षेत्रबाट खेलकुद क्षेत्रको विकासमा योगदान दिएका व्यक्तिहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको बताए ।

प्रकाशित मिति: आइतबार, भदौ २३, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update