Hamro Patra
मन्त्रीलाई प्रेस चौतारीको छ बुँदे ज्ञापन पत्र 

धनगढी, भदौ १६
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्कीलाई प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिले ६ बुँदे ज्ञापन पत्र बुझाएको छ । 

सुदूरपश्चिम प्रदेशमा आमसञ्चार माध्यमको अवस्था दयनीय बन्दै गइरहेको छ र विश्व बजारमा आएको आर्थिक मन्दी र कोरोनाकालको असर सुदूरपश्चिमका आमसञ्चार माध्यममा पनि परेको भन्दै सञ्चार क्षेत्रका विषयमा गम्भीर बन्न आग्रह गर्दै मन्त्रीलाई ज्ञापन पत्र बुझाइएको हो । ‘आर्थिक अवस्थामा आएको मन्दीले धेरै सञ्चार माध्यमहरू बन्द भएका छन् भने अधिकांश पत्रकारहरू आफ्नो पेसा छोडेर पलायन हुने अवस्थामा पुगेका छन्’ मन्त्रीलाई बुझाइएको ज्ञापन पत्रका उल्लेख गरिएको छ ।

Khadga Memorial And Janajagriti

प्रेस चौतारी सुदूरपश्चिम प्रदेश समितिका महासचिव शिवराज भट्टले मन्त्रीलाई ज्ञापन पत्र बुझाएका  हुन् ।  मन्त्रीलाई बुझाइएका ज्ञापन पत्रमा  ‘रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धी ऐन २०७६’ खारेजीको माग गरिएको छ । आमसञ्चार नीति बनाउन गठन गरिएको समितिले बुझाएको मस्यौदामा थप छलफल गरि परिमार्जनसहित  विधेयक यथाशीघ्र संसद्मा प्रस्तुत गर्न समेत मन्त्रीसँग माग गरिएको छ ।

प्रेस काउन्सिलको वर्गीकरणका आधारमा प्रदेशभित्रका पत्रपत्रिकाहरूलाई मासिक रुपमा लोककल्याणकारी विज्ञापनको व्यवस्था गर्न,  आन्तरिक मामिला मन्त्रालयले विगतका वर्षहरूमा रेडियो, अनलाइन पत्रिका, अनलाइन टिभी र पत्रपत्रिकाहरूलाई वार्षिक रुपमा दिदै आएको ८ हजार रकम एकदम न्यून र लाजमर्दो भएकाले त्यो रकम मासिक रुपमा लोककल्याणकारी विज्ञापनका रुपमा दिन समेत माग गरिएको छ ।

प्रदेश सरकार र मातहतका कार्यालयहरूबाट प्रकाशन र प्रसारण हुने  सूचना प्रदेशभित्रका सञ्चार माध्यममा अनिवार्य रुपमा प्रकाशन तथा प्रसारण गर्ने, सुदूरपश्चिममा कार्यरत सञ्चारकर्मीहरूका लागि कम्तीमा १० लाख बराबरको स्वास्थ्य बिमाको व्यवस्था गर्न र  प्रदेशभित्रका सञ्चारकर्मीहरूको क्षमता र दक्षता बढाउनका लागि यथाशीघ्र मिडिया एकेडेमीको स्थापना गर्न माग गरिएको छ ।

प्रेस चौतारीको ज्ञापन पत्र बुझ्दै आन्तरिक मामिला मन्त्रीले सुदूरपश्चिम प्रदेशका पत्रकारहरूको हक अधिकारको  लागि आफू लागिपर्ने बताएका थिए । उनले आमसञ्चार नीति बनाउन सरकार लागिरहेको बताए । 
 

प्रकाशित मिति: आइतबार, भदौ १६, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update