Hamro Patra
कैलालीमा भारतीय माछा र कुखुरा छ्यापछ्याप्ती

धनगढी, भदौ १५
कैलाली जिल्लासँग जोडिएको भारतीय सीमावर्ती बजारबाट हुने चोरी तस्करी मौलाएको छ । जिल्लाको कैलारी गाउँपालिकासँग जोडिएको भारतीय सीमा नाकाबाट माछा, ब्रोइलर कुखुरा र खाद्यन्नसहित बस्तुको अवैध चोरी तस्करी भइरहेको हो ।

चोरी तस्करी भई आएका भारतीय पंगास (बैखा/जलकपुर) माछा, ब्रोइलर कुखुरा ग्रामीण भेगका मासु पसलहरुमा छ्याछ्याप्ती भेटिने गरेको छ । 

जसले गर्दा एकातिर आमउपभोक्ताहरु चोरी तस्करी भई आउने गुणस्तरहीन माछा र ब्रोइलर कुखुरा उपभोग गर्न बाध्य छन्  भने, अर्कोतिर सस्तो मूल्यमा आउने ती गुणस्तरहीन भारतीय माछा र कुखुराले गर्दा स्थानीय माछा तथा कुखुरा उत्पादक किसानहरु मारमा परेका छन् ।

Khadga Memorial And Janajagriti

कैलालीको कैलारी गाउँपालिका वडा नं. ३ मा पोल्ट्री फार्म सञ्चालन गर्दै आएका किसान अशोक चौधरीले भारतीय बजारबाट चोरी तस्करी भई आउने कुखुरा र माछाका कारण आफूहरूको व्यवसाय नै धराप नै परेको बताउँछन् ।

उनले भने, ‘हामीले लाखौं लगानी गरी कुखुरा र माछा उत्पादन गर्छौ तर चोरी तस्करी भई आउने सामानले हामी मारमा परेका छौँ । यस्तै अवस्था कायमै रहे व्यवसायबाटै पलायन हुने अवस्था सिर्जना भइरहेको छ ।’

स्थानीय किसानहरूले भारतीय बजारहरूसँग जोडिएका कैलारी गाउँपालिकास्थित मोहना नदीमा रहेको मोहनपुरघाट, खोनपुरघाट, पलियाघाटका साथै धनगढी उपमहानगरपालिकास्थित बौलिया, खेडा र आई गाउँघाट भई अधिक रुपमा तस्करी हुने बताएका छन् ।

वडा नं. ४ का स्थानीय किसान टीकाराम चौधरीले प्रहरीकै मिलेमतोमा ओसार प्रसारमा संलग्न केही व्यक्तिहरू दिनहुँ ठुलो मात्रा भारतबाट अवैध कुखुरा र माछा भित्र्याउँदै आएको बताए । जसले गर्दा आफूहरू परेसान भएको उनको दुःखेसो छ ।

बिओपी खोनपुरका सशस्त्र प्रहरी नायव उपरीक्षक गन्डिव रसाइले आफूहरूले सकेसम्म सीमामा निगरानी बढाएको र केही मात्रा त्यस्ता सामान जफत गरी नष्ट समेत गर्दै आएको बताए । तर नियन्त्रणको लागि सबै पक्ष लाग्नुपर्ने उनको भनाइ थियो ।

कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले आफूले तत्काल ती नाकाहरुमा कडाई गर्न सशस्त्र प्रहरीलाई निर्देशन दिने बताए । संलग्नलाई कडा कारबाही गर्ने पनि प्रमुख जिल्ला अधिकारी मिश्रको भनाइ थियो ।

यसैबिच कैलारी गाउँपालिकाका उपाध्यक्ष भागवती कुमारी चौधरीले प्रशासनसँगको समन्वयमा बजार अनुगमन पनि गरिने बताइन् । चोरी तस्करीले स्थानीय किसान र उपभोक्ताहरूमाथि खेलवाड भइरहेको बताउँदै उनले त्यसतर्फ आफूहरूको पनि ध्यानाकर्षण भएको बताइन् ।

प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१  ०९:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update