Hamro Patra
सहकार्य गरेर अघि बढ्ने वडाध्यक्षको प्रतिवद्धता

टीकापुर, भदौ १४
टीकापुर जेसीजको आयोजनामा आज स्थानीय सरकारः युवाको अपेक्षा विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सो कार्यक्रममा युवाहरुले कार्यक्रमका प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष तथा कार्यपालिका सदस्य मोहन विकलाई आफ्ना अपेक्षा राखेका थिए ।

युवाहरुका अपेक्षालाई सम्बोधन गर्दै वडाध्यक्ष विकले सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे । उनले आगामी कार्यपालिका मार्फत युवा लक्षित कार्यक्रम ल्याउन अगुवाई गर्ने बताए । ‘तपाईहरुले उठाएका कुरा कार्यपालिकामा छलफलको विषय बनाउँछु’ उनले भने–‘मेरा लागि तपाईहरुका सुझाव मार्गदर्शक बन्नेछन ।’

उनले युवाहरुको सहयोग बिना परिवर्तन सम्भव नभएको बताउँदै जनप्रतिनिधिलाई बेला बेलामा सचेत पार्ने काम गरिराख्न आग्रह गरे । उनले नगरपालिकामा युवाहरुको संख्या ४० हजार रहेको जानकारी दिए । ‘१५ देखि ३९ वर्ष उमेर भएको जनसंख्या ४० हजार छ’ उनले भने–‘जति धेरै युवाको संख्या त्यति धेरै सम्भावना रहन्छ ।’

Khadga Memorial And Janajagriti

कार्यक्रमका विशिष्ट अतिथि नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष योगेश रावलले स्थानीय सरकारले युवाहरुलाई स्वदेशमै रोक्ने खालका योजना ल्याउनुपर्ने बताए । उनले विदेशबाट फर्केर आएका युवाहरुलाई व्यवशायमा टिकाउन सहज खालको वातावरण बनाउन माग गरे ।

‘व्यवशायीहरुले काम गर्न सहज छैन भनि राखेका छन’ उनले भने–‘सहज बनाउने जिम्मेवारी तपाईहरुको हो । मैले सक्दैन, मैले गरेर हुँदैन भन्ने छुट तपाईहरुलाई छैन ।’

इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख डिएसपी विश्वराज अधिकारीले युवा लक्षित कार्यक्रममा युवाहरुकै सहभागीता नहुने गरेको बताए । ‘लागु पदार्थ दुव्र्यसन रोक्न ३५० कार्यक्रम गरियो’ उनले भने–‘ती धेरैजसो कार्यक्रममा युवाहरुको सहभागीता नै रहेन ।’ 

उनले विभिन्न अपराधिक क्रियाकलापमा संलग्न रहने युवाहरुको संख्या बढ्दो क्रममा रहेको बताए । उनका अनुसार पक्राउ पर्नेमा धेरैजसो १८ देखि २५ वर्ष उमेरका युवा रहेका छन ।

टीकापुर जेसीजका पूर्वअध्यक्ष जगदीश्वर पण्डितले युवाहरुलाई स्वरोजगारतर्फ आकर्षित गरेर उनीहरुले अपेक्षा गरेका कुरा सम्बोधन गर्नु पर्ने   बताए । ‘सरकारले सहयोग गर्नुपर्छ’ उनले भने–‘सुनेर मात्रै हुँदैन । व्यवहारले पुष्टी गर्नुपर्छ ।’

अर्का पूर्वअध्यक्ष आनन्द हमालले जनप्रतिनिधिले आम नागरिकसँग अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘जनप्रतिनिधि सबैको अभिभावक हो । पार्टी जेसुकै होस’ उनले भने–‘नेतृत्वले साझा बन्न सक्नुपर्छ ।’

सोही अवसरमा अर्का पूर्वअध्यक्ष रामबहादुर भण्डारीले युवाहरुले खबरदारीलाई निरन्तरता दिनुपर्ने बताए । टीकापुर दैनिकका प्रकाशक÷सम्पादक भुवनेश्वर अधिकारीले जनप्रतिनिधिलाई जिम्मेवार बनाउने दायित्व युवाको भएको बताए । 

कार्यक्रममा युवाहरुका तर्फबाट युवा उद्यमी विशाल बिष्ट, सहारा पुर्नस्थापना केन्द्रका सञ्चालक उपेन्द्र बटाला, बिरेन्द्र विद्या मन्दिर क्याम्पस स्ववियु सभापति नविन अधिकारी, सञ्चारकर्मी झलनाथ खनाल, टीकापुर बहुमुखी क्याम्पस स्ववियु सभापति नृपजंग थापा, योगेश थापा, हरिष न्यौपाने, प्रदिप रावल, बसन्त बोहरा लगायतले अपेक्षा राखेका थिए ।

टीकापुर जेसीजका अध्यक्ष रुपकबहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष सुशील भट्टराईले स्वागत मन्तव्य राखेका थिए ।

त्यस्तै युवा परिचालन संयोजक सुमित रावलले जेसीज आस्था पाठ, तालिम संयोजक पृथ्वी चपाँईले मिसन भिजन र कार्यक्रमका संयोजक टेकेन्द्रसिँह बिष्टले धन्यवाद व्यक्त गरेका थिए । टीकापुर जेसिज वर्ष २०२४ का महासचिव भरत भण्डारीले सञ्चालन गरेको कार्यक्रमको सहजीकरण सञ्चारकर्मी परमानन्द पाण्डेले गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update