Hamro Patra
सुदूरपश्चिम प्रदेशको बजेट अनिश्चित 

धनगढी, भदौ १४
सरकार फेरबदल भएसँगै सुदूरपश्चिममा अहिलेसम्म चालु आर्थिक वर्षको बजेट अनिश्चित जस्तै छ । वर्तमान सरकारले अहिलेसम्म बजेट ल्याउने बारेमा खाशै गृहकार्य गर्न सकेको छैन ।

स्रोतका अनुसार भदौ २१ गतेसम्म बजेट ल्याउने तयारी भैरहेको छ । कांग्रेसको नेतृत्वमा एमालेसहितको नयाँ गठबन्धन बनेपछि एकीकृत समाजवादीका दीर्घबहादुर सोडारी नेतृत्वको तत्कालीन सरकारले ल्याएको साढे ३१ अर्ब बराबरको बजेट प्रदेश सभाबाट पारित हुन सकेन । 

Khadga Memorial And Janajagriti

२० साउनमा कांग्रेस र एमालेको समर्थनमा मुख्यमन्त्री बनेपछि कमलबहादुर शाहले २१ साउनमा पदभार ग्रहण गर्दै चाडै बजेट ल्याउने बताएका थिए । सोही दिन मन्त्रिपरिषद्लाई पूर्णता दिएका शाहले भदौ पहिलो साताभित्र बजेट ल्याएर रोकिएका कामलाई गति दिने दाबी गरेपनि सरकारले अहिलेसम्म बजेट ल्याउन सकेको छैन ।

सरकारले २४ साउनमा सुदूरपश्चिम प्रदेश सामयिक कर अध्यादेश २०८१ ल्याएर रोकिएको कर संकलनको बाटो खोलेको थियो तर बजेट कहिले ल्याउँछ भन्ने कुरा प्रष्ट छैन ।

यद्यपि मुख्यमन्त्री शाहले सरकारले २१ भदौभित्र बजेट ल्याउने गृहकार्य गरिरहेको बताएका छन् । शाहले प्रदेश सभामा पेश भइसकेको बजेट पुनर्लेखन र परिमार्जनसहित ल्याउने तयारी रहेको समेत बताए ।

उनले आवश्यक योजना तथा कार्यक्रम नयाँ बजेटमा समावेश गर्ने र आवश्यक नभएकालाई हटाउने बताए ।

आर्थिक मामिला मन्त्रालयका अनुसार अघिल्लो आर्थिक वर्षको ६ अर्ब १५ करोड रुपैयाँ बचत हुने अनुमान थियो । तर ४ अर्ब ८४ करोड मात्रै बचत भएकाले बजेटको आकार घट्ने देखिएको छ ।

प्रदेश सभामा यसअघि बजेट पेश भइसकेको तर पारित हुन नसकेको कारणले गर्दा अध्यादेशमार्फत नयाँ बजेट ल्याउने वा प्रतिस्थापन विधेयक ल्याउने विकल्प सरकारसँग छ ।
 

प्रकाशित मिति: शुक्रबार, भदौ १४, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update