Hamro Patra
प्रत्येक सांसदलाई चार करोडका योजना दिने तयारी

धनगढी, भदौ ११
सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा संसादहरुलाई २ देखि ४ करोडका योजना दिने तयारी गरिरहेको छ । सरकारले प्रत्यक्ष निर्वाचित सांसदलाई ४ करोड र समानुपातिक सांसदलाई २ करोड बराबरका योजना दिने तयारी गरिरहेको छ । अन्य प्रदेशहरुकै शैलीमा सांसदहरूलाई प्रत्यक्ष बजेट नदिएर घुमाउरो तरिकाले योजना अनुसार बजेट विनियोजन गरिदैं छ ।

५३ सदस्यीय प्रदेशसभामा ३२ जना प्रत्यक्ष र २१ जना समानुपातिक सांसद छन् । प्रत्यक्ष निर्वाचित सांसदका लागि १ अर्ब २८ करोड र समानुपातिकका लागि ४२ करोड छुट्याएर सांसदहरूका योजना समावेश गर्ने तयारी भइरहेको सत्तारूढ दलका एक सांसदले बताए ।

Khadga Memorial And Janajagriti

विगतमा सांसदहरूले स्वैच्छिक रूपमा योजना र रकम छनोट गर्न पाउने गरी प्रदेश सरकारले वार्षिक कार्यक्रम पुस्तिकामा एकमुष्ट बजेट विनियोजन गर्दै आएको थियो ।

गत आर्थिक वर्षमा प्रत्यक्ष निर्वाचित सांसदलाई तीन करोड भाग पर्ने गरी एकमुष्ट ९६ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर सर्वोच्च अदालतको आदेशले रोक लगाएपछि उक्त कार्यक्रम कार्यान्वयन हुन सकेन । सर्वोच्चको आदेशपछि सांसदहरू कुनै न कुनै रूपमा निर्वाचन क्षेत्र विकास कार्यक्रम ब्युँताउन ‘लबिइङ’ मा थिए ।

विधायिकी भूमिकामा रहेका सांसदहरूको तजबिजी चल्ने गरी बजेट छुट्याउँदा दुरुपयोग बढेको भन्दै महालेखा परीक्षकको प्रतिवेदनले नै औंल्याएको थियो र सार्वजनिक आलोचना पनि हुँदै आएको थियो ।

सर्वोच्च अदालतको आदेशका कारण विगतमा जसरी निर्वाचन क्षेत्र विकास कार्यक्रम ल्याउन नपाउने भएपछि प्रदेश सरकारले सांसदहरूका योजनालाई बजेट छुट्याउन लागेको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १२:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update