टीकापुर, भदौ १०
कृषि उत्पादनलाई बजारीकरण गर्ने भन्दै सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक सहयोगमा निर्माण गरिएका कृषि हाटबजार मध्ये टीकापुरबाहेक सबै बन्द अवस्थामा रहेका छन् ।
कैलालीका विभिन्न पाँच स्थानमा आर्थिक वर्ष २०७६/०७७ मा एक करोड बढीको लगानीमा कृषि हाटबजार निर्माण गरिएका थिए । तर अहिले पाँच मध्ये चार हाटबजार प्रयोग विहीन अवस्था रहेको पाइएको छ ।
प्रदेशको सार्वजनिक लेखा समितिले गरेको अनुगमनमा टीकापुर कृषि हाट बजारबाहेक प्रदेश सरकारले बनाएका अन्य सबै हाटबजारहरू अलपत्र अवस्थामा रहेको भेटिएको थियो । किसानको आवश्यकता भन्दा पनि पहुँचका आधारमा तयार भएका हाटबजार अलपत्र रहेको अधिकांश किसानहरूले गुनासो गरेका थिए ।
संसदीय समितिको अनुगमनमा स्थानीयले कार्यकर्ताहरूलाई पोस्नको लागि बजेट तयार गर्दा काम प्रभावकारी नभएको गुनासो गरेका थिए ।
गलत ठाउँमा योजना पारिएको, नियमनकारी निकायले चासो नदेखाएको र किसानहरूसँग सल्लाह नै नगरेर हाटबजार तयार गरिएको हुँदा करोडौँ लगानीमा तयार भएका हाटबजार अलपत्र परेको स्थानीयले संसदीय समितिलाई बताएका थिए ।
सार्वजनिक लेखा समितिका ज्येष्ठ सदस्य विक्रमसिंह धामीको नेतृत्वमा रहेको अनुगमनमा प्रदेश सभा सदस्यहरू प्रकाश बहादुर देउवा, सन्तोष शर्मा थापा, अक्कल बहादुर रावल, बेल बहादुर राना, मधु भारती, गीता देवी माल र गीता चौधरी सहभागी थिए ।
सार्वजनिक लेखा समितिको टोलीले गौरीगङ्गा नगरपालिका-९ स्थित कृषि उपज संकलन, घोडाघोडी नगरपालिका-१, सुखडमा रहेको कृषि बजार व्यवस्थापन समिति, बर्दगोरिया-५, स्थित प्रगतिशील हाट बजार, लम्कीचुहा नगरपालिका-८, गोप्कास्थित हाटबजार तथा सांस्कृतिक संरक्षण समिति र टीकापुर नगरपालिका-१, स्थित कृषि बजार व्यवस्थापन समितिको अनुगमन गरेको थियो ।
आर्थिक वर्ष २०७६/०७७ मा हाटबजार सम्बन्धी सबै योजना उपभोक्ता समितिमार्फत निर्माण भएको बताइएको छ । प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको अनुदानमा कृषि ज्ञान केन्द्रले उपभोक्ता समितिमार्फत कृषि हाटबजारहरू निर्माण गरेको हो ।
सार्वजनिक लेखा समितिका अनुसार गौरीगङ्गा नगरपालिकाको कृषि उपज समितिलाई १३ लाख बढी भुक्तानी भएको छ । त्यस्तै, सुखड कृषि बजार व्यवस्थापन समितिले ४२ लाख ८३ हजार बढी भुक्तानी लिएको छ ।
बर्दगोरियाको प्रगतिशील हाट बजारलाई ६ लाख ५९ हजार र लम्कीचुहा नगरपालिका-८ को हाटबजार तथा सांस्कृतिक संरक्षण समितिलाई १३ लाख १८ हजार भुक्तानी भएको छ । टीकापुर नगरपालिका-१ को कृषि बजार व्यवस्थापन समितिलाई १३ लाख १८ हजार रुपैयाँ भुक्तानी भएको छ ।
कैलालीका पाँच स्थानमा कृषि हाटबजार निर्माणको लागि प्रदेश सरकारले २०७६/०७७ मा एक करोड ४ लाख ४१ हजार खर्च गरेको थियो । निर्माण भएका हाटबजारहरूमध्ये टीकापुरमा मात्रै साताको दुई दिन हाट बजार सञ्चालन हुने गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।
‘अनुगमन गरेका मध्ये एउटा मात्रै राम्रो देखिएको छ अरू सबै अलपत्र र बन्द छन्’ समितिका ज्येष्ठ सदस्य धामीले भने ‘राज्यको यति ठूलो लगानी खेर गएको जस्तो भएको छ यस विषयमा हामी गम्भीर छौँ ।’
उनले केही दिनमै यस विषयमा समितिको बैठक आह्वान गरेर ठोस निणर्य लिने समेत बताएका छन् । हाटबजार बनाउँदा आर्थिक चलखेल भएको , योजना किनबेच भएको आरोप यस अघि पनि नआएको भने होइन तर, सरकारी निकायले कुनै चासो दिएको थिएन ।
निर्माण भएको चार वर्षसम्म पनि अहिले किसानहरूले अधिकांश हाटबजारमा कृषि उत्पादन बिक्री गर्दैनन् । उनीहरुले आफूहरूको आवश्यकता एकातर्फ रहेको र सरकारले अर्को तर्फ हाटबजार बनाइदिएको बताउँदै आइरहेका छन् ।
सुखडमा ४२ लाख ८३ हजारमा तयार भएको हाटबजार अलपत्र पर्दा किसानहरूले भने खुल्ला आकाशमुनि कृषि उत्पादन बिक्री गर्न बाध्य छन् । यस्तो समस्या टिकापुरबाहेकका सबै हाटबजारमा देखिएको अनुगमन समितिले जनाएको छ ।