अछाम, भदौ १०
जिल्ला समन्वय समितिका प्रमुख ललित कुँवर र नेपाली कांग्रेसका प्रवक्ता पदम शाहबीच कुटाकुट भएको छ। शनिबार राति ११ बजे जिल्ला समन्वयको कार्यालयमा सँगै बसेर मदिरा सेवन गरेपछि दुई जनाबीच कुटाकुट भएको प्रहरीले जनाएको छ ।
दुई जनाबीच कुटाकुट हुँदा समन्वय प्रमुख कुँवरको टाउकोमा चोट लागेको छ । शाहले मदिराको बोतल प्रहार गरेपछि कुँवरको टाउको चोट लागेको छ भने शाहको हातमा चोट लागेको जिल्ला प्रहरी प्रमुख डीएसपी ईश्वरी प्रसाद भण्डारीले जानकारी दिए ।
डीएसपी भण्डारीका अनुसार शनिबार राति समन्वय प्रमुख कुँवरले आफूमाथि हातपात भएको भन्दै टेलिफोन मार्फत प्रहरीमा उजुरी गरेका थिए । स्वास्थ्य परीक्षणका क्रममा दुवैले मदिरा सेवन गरेको पाइएको डीएसपी भण्डारीले बताए ।
जिल्ला अछाम अस्पतालका अनुसार प्रमुख कुँवरको टाउकोमा ४ टाँका लगाइएको छ । कुँवरको अवस्था खतरामुक्त रहेर अस्पतालबाट डिस्चार्ज गरिएको प्रहरीले जनाएको छ । विवादको विषय थाहा नभएको डीएसपी भण्डारीले बताए । समन्वय प्रमुख कुँवर नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।