Hamro Patra
माघ २५ गतेदेखी हात्तीपाइले विरुद्धको औषधी खुवाइने

टीकापुर, माघ ६

टीकापुर नगरपालिकामा माघ २५ गतेदेखी हात्तीपाइले रोग निवारण अभियान सुरु हुने भएको छ । नगरपालिकाले आज गरेको एक कार्यक्रममा हात्तीपाइले रोग विरुद्धको औषधी खुवाईने बताईएको छ ।

Khadga Memorial And Janajagriti

स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले पहिलो दिन बुथ मार्फत औषधी खुवाइने जानकारी दिए । उनले दोस्रो दिनदेखी फागुन २ गतेसम्म घरदैलो अभियान सञ्चालन हुने बताए । नगरपालिकाले अभियानमा ७५ जना स्वास्थ्यकर्मी र १२० जना महिला स्वास्थ्य स्वयमसेविका परिचालन गर्ने जनाएको छ ।

कैलाली हात्तीपाइले रोग निवारण अभियान अन्र्तगत सन् २०१९ मा गरिएको ‘रि प्रि टास्क सर्भे’ मा फेल भएको छ । यसअघि पहिलो पटक सन् २०१७ मा गरिएको ‘प्रि टास्क सर्भे’ मा समेत फेल भएको थियो । दोस्रो पटक लगातार फेल भएपछि कैलालीमा हात्तीपाइले रोग निवारण अभियान थप हुने भएको छ । जसअन्र्तगत सर्वसाधारणले सन् २०२२ सम्ममा औषधी सेवन गर्नुपर्ने छ ।

कैलाली जिल्ला भने हात्तीपाइले रोगको उच्च जोखिममा छ । यहाँ रोग प्रकोप दर ३ दशमलव ८८ प्रतिशत रहेको छ । देशभरको रोग प्रकोप दर भने १ दशमलव ४७ प्रतिशत रहेको छ । औषधी सेवन दर बढ्न नसक्नु हात्तीपाइले रोग निवारणको प्रमुख समस्या रहेको स्वास्थ्यकर्मीले बताएका छन । टीकापुरमा गतवर्ष ७२ दशमलव ५ प्रतिशतले औषधी सेवन गरेका थिए । यसवर्ष ९० प्रतिशतलाई औषधी सेवन गराउने लक्ष्य रहेको रावलले बताए ।

टीकापुर अस्पतालका मेसु डा. जितेन्द्र कँडेलले हात्तीपाइले रोग निवारण अभियान अन्र्तगतको औषधी सेवन गर्दा कुनै संकोच नमान्न आग्रह गरेका छन । उनले विगतका वर्षहरुमा अभियान प्रभावकारी नभएको भन्दै सरकारले यसवर्ष दक्ष स्वास्थ्यकर्मी नै खटाएकोले ढुक्क भएर औषधी सेवन गर्न आग्रह गरे ।

यो लामखुट्टेको टोकाइबाट सर्ने पजीवीका कारण लाग्ने रोग हो । यसलाई लामखुट्टेले एक व्यक्तिबाट अर्को स्वस्थ्य व्यक्तिमा सार्ने गर्छ । जाडो लागेर ज्वरो आउनु, शरीरमा कम्पन हुनु, लिम्फ नलीहरु सुन्निनु, रातो भई दुख्नु, गिर्खा आउनु, अण्डकोष सुन्निनु, महिला योनाङ्ग वा स्तन सुन्निनु, खुट्टा सुन्निएर हात्तीपाइले हुनु, पिसाबमा दूध जस्तो बाक्लो लेदो आउनु लगायत हात्तीपाइले रोगका लक्षण हुन ।

प्रकाशित मिति: सोमबार, माघ ६, २०७६  १६:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update