Hamro Patra
मदिराजन्य होर्डिङ बोर्ड हटाउँदै टीकापुर नगरपालिका

टीकापुर, भदौ ८
कैलालीको टीकापुर नगरपालिकाले पालिका क्षेत्रभित्र मदिराजन्य पदार्थको विज्ञापन तथा होर्डिङ बोर्डहरु हटाउन शुरु गरेको छ । पालिकाको उपभोक्ता हित संरक्षण उपशाखाको अगुवाईमा टीकापुर बजार, नारायणपुर, सत्ती र टीकापुर पार्क क्षेत्रका होटल तथा रेष्टुरेन्टहरुमा लगाइएका होर्डिङ बोर्ड तथा विज्ञापनहरु हटाउन शुरु गरेको हो । 

पालिकाले गत साउन १५ गते सूचना प्रकाशित गर्दै पालिका क्षेत्रभित्रमा मदिराजन्य पदार्थको विज्ञापन तथा होर्डिङ बोर्डहरु हटाउन भनेको थियो । 
पालिका, उपभोक्ता हित संरक्षण मञ्च नेपालका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी तथा कानुन शाखाको संयुक्त टोलीले होटल तथा रेष्टुरेन्टको अनुगमन गर्दै होर्डिङ बोर्डहरु हटाएको हो । 

Khadga Memorial And Janajagriti

पालिकाको आर्थिक विकास शाखा प्रमुख रञ्जु आचार्यले संघीय सरकारको निर्देशन तथा टीकापुर नगरपालिकाको स्वास्थ्य तथा सरसफाई ऐन २०७६ को दफा १७(५) मा भएको व्यवस्था अनुसार होर्डिङ बोर्डहरु हटाइएको बताइन् । 

‘पालिकाको स्वास्थ्य ऐनमा नगरपालिका भित्र मदिरा, चुरोट, सुर्ती लगायत मानव स्वास्थ्यलाई गम्भीर असर गर्ने सामग्रीको विज्ञापन गर्न पाइने छैन भन्ने व्यवस्था उल्लेख छ’ आचार्यले भनिन् ‘सोही व्यवस्था अनुसार सूचना जारी गरेका थियौं, आज अनुगमन गर्दा ६३ वटा होटल तथा रेष्टुरेन्टको बोर्डहरु हटाएका छौं ।’

आचार्यले उपभोक्ता हित संरक्षण मञ्च नेपालले पालिकाको ध्यानाकर्षण गराएपछि पालिकाले सूचना जारी गरेको बताइन् ।

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १६:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update