Hamro Patra
सम्बन्ध

चतुर्भुज गौतम

साहूजी !

मलाई दुई किलो प्रेम

एक किलो घृणा

Khadga Memorial And Janajagriti

आधी किलो भावना

आधी किलो चोट

एक पाऊ वितृष्णा

र थोरै

घाऊ दिनुस् न

जहाँ मैले सम्बन्धमा

टुट्दै गरेको

आलो घाऊमा मल्हम हैन

नून र चुक दल्न सकौं........।

.

सम्बन्धको मूल्य !

के छ र अचेल ?

लेनदेनको व्यापार

भैदिएको छ सम्बन्ध

बस्तु विनिमयको साटासाट

प्रणालीमा गैदिएको छ

भावनात्मक प्रेम

के छैन र प्रेममा ?

पैसा छ सम्बन्ध छ,

पैसा छैन

भावनामा खेलिन्छ सम्बन्धलाई

अर्थात

एक किलो दुधमा

सय ग्राम चिनी,केही चियापत्ती

र अलिकति सुकुमेलको सुगन्ध

मिसाएर

पकाइएको चिया हो

प्रेम ! र सम्बन्ध !

चियादानीमा छानिएर फ्याँकिएको

चियापत्तीको छोक्रा हो प्रेमको निसानी

फ्याँकिनु पर्ने चियापत्तीको छोक्रा......।

.

प्रेममा अचेल !

यही हाल भैदिएको छ

गुमेको छ प्रेम

हराएको छ भावना

उसले सम्झियो, मैले सम्झिदिएँ

उसले बिर्सियो, मैले भुलिदिएँ

यही मानवेत्तर प्रेमको निसानी

भैदिएको छ

परिवार !

आफन्त !

दाजुभाइ !

दिदिबहिनी !

एवम्

आत्मीयताको धरोहर

प्रेममा चुर्लुम्म डुबेको संसार !

युगल प्रेमिल जोडीमा समेत

अचेल !

प्रेम ! भावना ! समर्पण ! र सम्बन्ध !

केवल स्वार्थमा बिकेको छ

मानौं

प्रेम !

एउटा व्यापार हो

भावना !

एउटा विनिमयको माध्यम हो ....।

 

टीकापुर-१, कैलाली
हालः काठमाडौं

प्रकाशित मिति: शनिबार, भदौ ८, २०८१  १२:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update